बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गुटगत निर्णय लिएर नेकपाका नेताहरु गाउँगाउँमा

दैनिक नेपाल २०७७ माघ ७ गते ७:४७

काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका शीर्ष नेताहरू गुटगत निर्णय एवं सन्देश लिएर अहिले गाउँगाउँमा कार्यक्रम गर्न व्यस्त भएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सन्देश र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले जिल्लाजिल्लामा आमसभा, भेला, बैठकलगायतका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

तर पार्टीको निर्णयअनुसार कार्यक्रम गर्न जिल्ला पुग्न नसकेका शीर्ष नेताहरू अहिले गुटगत निर्णयका सन्देश लिएर गाउँगाउँसम्म पुगिरहँदा आम कार्यकर्तामा अन्योल र निराशा छाइरहेको छ । यद्यपि दुवै समूहले आआफ्नो कार्यक्रममा कार्यकर्ताहरू उत्साहका साथ लागिपरिरहेको दाबी गर्दै आएका छन् ।

पार्टी एकतापछि कार्यकर्ता र नेताका बीचमा कम संवाद एवं भेटघाट हुने गरेको भए पनि अहिले गुटगत विषयमा घनिष्ट रूपमा कुराकानी हुँदा त्यसले पार्टीलाई उन्नत बनाउन नसक्ने कार्यकर्ताको गुनासो छ ।

केही शीर्ष नेताको अडान र हठका कारण नेकपा दुई समूहमा विभाजित भइसकेको छ । विचार र सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको लडाइँका कारण पार्टी विभाजन हुन पुगेको आम कार्यकर्ताको बुझाइ छ ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध नेकपा दाहाल–नेपाल समूह आन्दोलित छ भने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली समूह भने निर्वाचनको तयारीमा जुटेको छ ।

दुवै समूहको पछिल्लो बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू निकटका नेतालाई जिम्मेवारी तोक्ने क्रम जारी छ । एकले अर्कोलाई आरोप लगाउँदै विरोध र गाली गलौज गर्ने क्रम पनि रोकिएको छैन । गुटगत निर्णय लिएर अहिले शीर्ष नेताहरू जिल्लाजिल्लामा भेला, बैठक, प्रशिक्षण गर्नमा नै रमाइरहेका छन् ।

आआफ्नो समूहको नेकपा आधिकारिक नेकपा भएको भन्दै तल्लो तहका नेता, कार्यकर्तालाई आफ्नै समूहमा लाग्न नेताहरू फकाउँदै छन् । कतिपय नेताहरू कार्यकर्ताको घरघरसम्म पुग्ने गरेका छन् । कानुनी रूपमा पार्टी नफुटे पनि व्यवहारतः पार्टी फुटेकै अवस्थामा पुगिसकेको छ ।

पार्टी आधिकारिकताबारे निर्वाचन आयोगले दुवै समूहका निर्णय अध्ययन गरिरहेको छ । दुवै समूहले अहिले काठमाडौंमा युवा, विद्यार्थी, महिलालगायतका भेला, बैठक सम्पन्न गरेका छन् । नेकपा स्रोतका अनुसार बाँकी भ्रातृसंगठनका भेला तथा बैठक छिटै हुनेछ । पार्टी एकता पछि हुन नसकेको भेलाबैठकले अहिले तीव्रता पाएको नेकपा नेताहरू बताउँछन् ।

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले अहिले पार्टीको भेला, बैठक, प्रशिक्षणलगायतका काम गाउँगाउँसम्म भइरहेको बताए ।

‘गाउँगाउँमा आन्दोलन परिचालन कमिटी गठन गर्ने र संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलनलाई सशक्त बनाउने हो,’ साहले भने, ‘प्रधानमन्त्रीको कदम असंवैधानिक छ, त्यही भएर हामी आन्दोलनमा छौं ।’

नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेलले प्रधानमन्त्री ओलीको कदम संवैधानिक रहेको दाबी गरे । ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरिएको बताउँदै उनले अब निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए ।

‘वैशाखमा निर्वाचन हुन्छ, हामी त्यसैको तयारीका लागि जिल्लादेखि गाउँगाउँसम्म विभिन्न कार्यक्रम गरिरहेका छौं,’ प्याकुरेलले भने, ‘प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको हो, अब निर्वाचनको विकल्प नै छैन ।’
नेकपा स्रोतका अनुसार काठमाडौं मात्रै नभई प्रदेश, जिल्लादेखि स्थानीय तहसम्ममा अहिले भेला, बैठक, प्रशिक्षणलगायतका गतिविधिले तीव्रता पाएको छ । प्रधानमन्त्री ओली देशव्यापी अभियानमा निस्कन थालेका छन् भने दाहाल र नेपाल समेत काठमाडौं बाहिर गएर सम्बोधन गर्ने क्रम बढाएका छन् । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित