३ कार्तिक २०८३, मंगलबार

जनमोर्चाबाट निर्वाचित ढोरपाटन–४ का वडाअध्यक्ष र सदस्यको पद खोसियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिलक पुन

काठमाडौं, ५ माघ । राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङको ढोरपाटन नगरपालिका–४ का अध्यक्ष तिलक पुन र सोही वडाका वडा सदस्य तिलबहादुर फगामीको पद खोसिएको छ ।

जनहितविपरीत र गम्भीर अपराधपूर्ण घटनाहरुमा संलग्न भएका ती निर्वाचित अध्यक्ष पुन र सदस्य फगामीको पद निर्वाचन आयोगले नै खोसेको हो । उनीहरुसम्बद्ध पार्टी राष्ट्रिय जनमोर्चाको सिफारिस मागबमोजिम आयोगले उक्त निर्णय लिएको बताइएको छ ।

जनमोर्चाको केन्द्रीय कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे आम सर्वसाधारणमा जानकारी दिएको हो । ‘निर्वाचन आयोगले राष्ट्रिय जनमोर्चाको मागबमोजिम निजहरु दुवै जनाको पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशन गरेको छ । ढोरपाटन नगरपालिकासहित सम्बन्धित निकायहरुले त्यसको कार्यान्वयनका लागि र आम रुपमा जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार पुन र फगामीले पार्टीको निर्देशन नमान्ने, मनोमानी तरिकाले काम गर्ने, पार्टीलाई तिर्नुपर्ने लेभी नतिर्ने, जनतासँग नोकरशाही प्रकारको व्यवहार गर्ने, पार्टीकै साथीहरुसँग झगडा गर्ने र कुटपीट गर्नेलगायत कार्यमा संलग्न हुँदै आएका थिए ।

‘गत वर्षको कात्तिक महिनामा दलबलसहित राष्ट्रिय जनमोर्चाकै साथीहरुलाई आक्रमण गरी कुटपीट गरे । उक्त घटनामा स्वयं तिलक पुन पनि घाइते भएका थिए । उक्त घटनाको छानवीन गर्दा उनीहरु दोषी देखिएकाले पार्टीले उनीहरुलाई अनुशासनको कारबाही गरेको थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘सुझाव, सल्लाह, प्रशिक्षण, आलोचना र अनुशासनको कारबाही गर्दा पनि उनीहरुमा सुधार आएन ।’

गत असार १३ गते कोभिड–१९ को प्रकोप र लकडाउनका कारणले समस्यामा परेका ढोरपाटन नगरपालिका–४ खुंगाका जनतालाई वितरण गर्न लाँदै गरेका खाद्य राहत सामग्री खोसेर उनीहरुले खोलामा फ्याँकेको पनि जनमोर्चाले बताएको छ । त्यस्तै बिरामीलाई उपचार गर्नका लागि वितरण गर्न लगेको रकम पनि उनीहरुले नै खोसेर खाएको आरोप पार्टीले लगाएको छ ।

‘उक्त घटनाको छानवीन गर्दा तिलक पुनको निर्देशन र तिलबहादुर फगामीको प्रत्यक्ष अगुवाईमा उक्त घटना घटेको पाइयो’, जनमोर्चाले भनेको छ, ‘पार्टीले त्यो घटनालाई गम्भीर अपराधपूर्ण र जनहितविरोधी घटना भनि उनीहरुलाई पार्टी सदस्य समेतबाट अनिश्चितकालका लागि निष्कासन गर्ने र उनीहरुको निर्वाचित पद समेत रिक्त गर्ने निर्णय गरेको थियो ।’

सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद खोसेको बताइएको छ ।