सोमबार, १७ फागुन २०७७
DainikNepal.com
सोमबार, १७ फागुन २०७७

नेपालमा कोरोनाका ९७.८ प्रतिशत संक्रमित निको, मृत्युदर १ प्रतिशतभन्दा तलै

दैनिक नेपाल २०७७ माघ ४ गते १७:०९

काठमाडौं, ४ माघ । नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको करिब–करिब १ वर्षको अवधिमा २ लाख ६७ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ९७ दशमलव ८ प्रतिशत संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणका कारण भएको मृत्युदर हालसम्म १ प्रतिशतभन्दा तल अर्थात् शून्य दशमलव ७३ प्रतिशत छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक आज आइतबार दिएको विवरणअनुसार नेपालमा हालसम्म २ लाख ६१ हजार ४४४ जना संक्रमित उपचारपछि निको भएका छन् । निको हुनेको यो दर कुल संक्रमितको ९७ दशमलव ८ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भइ १ हजार ९५९ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको यो दर शून्य दशमलव ७३ प्रतिशत भएको मन्त्रालयको भनाइ छ ।

यसैगरी नेपालमा हाल कुल संक्रमितको १ दशमलव ४६ प्रतिशत अर्थात् ३ हजार ९१९ जना सक्रिय संक्रमित छन् भने सोही संख्याका संक्रमित आइसोलेसनमा पनि छन् ।

त्यसैगरी शून्य दशमलव ०८ प्रतिशत अर्थात् २२१ जना संक्रमित क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख १२ हजार ४५२ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ ।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो ।

नेपालमा पहिलोपटक चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित