ताप्लेजुङ, ४ माघ । गत वर्ष पुस पहिलो साता ३७ सय मिटर हाराहारीको पाथीभरा क्षेत्र हिउँले ढपक्कै ढाक्यो । चिसोका कारण पाथीभरा दर्शन गर्न आउने भक्तजनको संख्यामा कमी त आयो नै, धेरै दिन यस क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्यो । ठीक उल्टो, यो वर्षको पुस पहिलो साता पाथीभरा क्षेत्रको जंगलमा भीषण डढेलो लाग्यो । पुस २४ मा आएर बल्ल डढेलो नियन्त्रणमा आएको छ ।
दुई सातासम्म जलेको जंगलभित्र तातोको राप अहिले पनि छ । वर्षौं पुराना खसु्र, धुपी, ठिंग्रे र गोब्रे सल्लाका रूख जलेर बनेको खरानी ताजै छ । अझै पानी र हिउँ पर्ने कुनै संकेत नभएकाले फेरि पनि डढेलो लाग्ने भयले स्थानीय त्रसित छन् । पुसमै भीषण डढेलो लागेपछि यस क्षेत्रमा बसोबास गर्ने स्थानीयसमेत अचम्मित भए । ‘यस्तो डढेलो हामीले कहिल्यै देखेका थिएनौं,’ पाथीभरा होटल व्यवसायी संघका अध्यक्ष इन्द्र भट्टराईले भने, ‘डढेलो नियन्त्रण गर्न दुई साताभन्दा बढी समय लाग्यो ।’ विगतका वर्षमा चिसो महिनामा यस क्षेत्रमा डढेलो लागेको धेरैलाई याद छैन ।
फुङलिङ नगरपालिका–११ फावाखोलाबाट सुरु भएको डढेलो पाथीभरा मन्दिरभन्दा दायाँतिरको जंगलभरि फैलिएको थियो । ‘डढेलो लागेको एक–दुई दिनभित्रै सुरक्षाकर्मीको सहयोग लिएर पूर्ण रूपमा निभायौं,’ ताप्लेजुङस्थित हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले भने, ‘भोलिपल्ट फेरि अर्को पाटोमा फैलिएछ, भीषण र भिरालो भागमा सल्किएकाले नियन्त्रण गर्नै नसकिने अवस्थामा थियो ।’ जिल्लामा रहेका सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको पहलकदमीले मात्र डढेलो नियन्त्रण असम्भव भएपछि झापाको चारआली, इलाम र पाँचथरबाट सेना बोलाइएको थियो । पुस २४ मा डढेलो नियन्त्रणमा आएपछि सुरक्षाकर्मीको टोली फर्किएको छ ।
डढेलो नियन्त्रणका लागि पर्याप्त तालिमप्राप्त जनशक्ति र उपकरण नभएकाले पाथीभरा क्षेत्रको डढेलो निभाउन धेरै समय लागेको हो । डढेलो नियन्त्रण गर्ने क्रममा २०६६ सालमा रामेछापमा १३ जना सैनिकको ज्यान गएको थियो । त्यो वर्ष डढेलोमा परेर देशभर ४९ जनाको ज्यान गएको थियो ।
फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बो सामुदायिक वन र श्रीजंघा गाउँपालिका–३ को सुनपाती सामुदायिक वनको करिब १०५ हेक्टर वन डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय ताप्लेजुङले अनुमान गरेको छ । अधिकृत वीरेन्द्र साहसमेत हिउँ पर्ने मौसममा नियन्त्रण गर्नै नसकिने गरी डढेलो लागेकामा अचम्मित छन् । ‘वर्षौंदेखि सुकेर रहेका पातमा डढेलो लागेपछि उग्र रूप लिएको हो,’ उनले भने, ‘नियन्त्रण गर्नै नसकिने गरी यसपटक डढेलो देखिन थालेको छ तर पनि हामीसँग नियन्त्रणका लागि पर्याप्त उपकरण र बजेट छैन ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया