शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘प्रचण्ड नातेदारको सम्पत्ति चोर जस्तै हुन्’

दैनिक नेपाल २०७७ माघ ३ गते १८:०५


काठमाडौँ, ३ माघ । सहरी विकासमन्त्री प्रभु साहले नेकपामा केही नेताहरुका कारण समस्या आएको बताएका छन् ।

शनिबार नेकपा ओली पक्षको प्रदेश १ को सम्पर्क कमिटीद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले नेकपाका केही नेताहरुका कारण, उनीहरुको पदलोलुपताका कारण संकट आएको बताएका हुन् ।

उनले पार्टी अध्यक्ष पद हत्याउने, आफ्नै सरकार ढाल्ने प्रयास गरिएको कारण समस्या आएको बताए ।

उनले अविश्वासको प्रस्तावमा आफ्नो नाम पनि आएको बताउँदै प्रश्न गरेका छन् । ‘अविश्वासको प्रस्तावमा म प्रभु साहको पनि नाम आएको छ । कुन मितिमा, कुन बैठकमा, कुन कमिटीमा अविश्वासको प्रस्ताव बारे छलफल भएको थियो ।’, उनले भने, ‘असार महिनामा फरक विषयमा गरिएको हस्ताक्षर आफ्नै सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन उपयोग गरियो । देशमा अस्थिरता र अराजकता पैदा गराउन हस्ताक्षरको दुरुपयोग गरियो । नेकपाभित्र अन्र्तघात गरियो । यही कारण यो अवस्था आयो ।’

त्यस्तै, साहले प्रचण्ड कस्ता मान्छे भन्ने विषयमा पनि टिप्पणी गरे । ‘प्रचण्डले किन यसो गर्नुभयो ? तपाईहरुका लागि अनौठो होला । तर, पूर्व माओवादी र प्रभु साहका लागि अनौठो होइन । प्रचण्डजी ३० वर्षदेखि माओवादी अध्यक्ष हुनुहुन्थ्यो ।’

उनले थपे, ‘उहाँले पहिले देखि नै यसै गर्दै आउनुभएको थियो । आफ्नो पदका लागि सहयोद्धा चिन्नुभएन, पदका लागि प्रतिवद्धता चिन्नुभएन, पद जोगाउनका लागि विचार चिन्नुभएन, पद जोगाउन आफ्नो पहिचान पनि चिन्नुभएन । पद संकटमा पर्नासाथ विचार, अजेण्डा सबै छाड्नुभयो । पदका लागि उहाँले माओवादी आन्दोलनको व्यापार गर्नुभयो । व्यापार गरेर नै यहाँसम्म आइपुग्नुभएको छ ।’

प्रचण्ड देशमा स्थापित रुपमा आएपछि देश भुमरीमा फँसेकाे साहकाे भनाइ छ । ‘देशमा जब प्रचण्डजी स्थापित ढंगले आउनुभयो, त्यसपछि नेपाल अस्थिरताको भुमरीमा फसेको छ । कम्युनिष्ट आन्दोलन अन्यौलको अवस्थामा फसेको छ । माओवादी आन्दोलनको अब न विचार छ, न नाम छ, न अस्तित्व छ । चुनाव चिन्ह समेत छैन । माओवादी आन्दोलन निजी स्वार्थका लागि प्रचण्डले ध्वस्त पार्नुभयो । अब कम्युनिष्ट आन्दोलन नै ध्वस्त पार्नेतिर लाग्नुभयो ।’ समाराेहमा बाेल्दै साहले भने ।

‘मेरो गाउँमा १०–१२ बिगाहा जग्गा भएको मानिस थियो । उ रक्सी र जुवाको कुलतमा फस्यो । घरभित्रको सबै सामान बेच्यो । बेच्ने सामान सकिएपछि जग्गा बेच्न थाल्यो । घर पनि बेच्यो । सबै बेच्यो । उसको घर नै भएन भनेर नातेदारले आफ्नो घरमा राखे । नातेदारको घरको सम्पत्ति पनि चोरेर बेच्यो । त्यसपछि उसलाई धपाए । अहिले यसो हेर्दा प्रचण्डले यसै गर्नुभयो ।’ मन्त्री साहले बताए ।

साहले प्रचण्डमुक्त कम्युनिष्ट पार्टी र नेपाल बनाउन आवश्यक रहेकाे बताए । उनले भने, ‘प्रचण्डमुक्त कम्युनिष्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन आवश्यक छ । म पूर्वाग्रहका कारण यसो भनिरहेको छुइन । लामो अनुभवका आधारमा यसो भनिरहेको छु । प्रचण्डबाट मुक्त नभई अगाडि बढ्यो भने नेपालले ठूलो दुर्भाग्य भोग्नुपर्छ ।’

उनले माओवादी आन्दाेलन बेच्ने प्रचण्ड भएकाे दावी गरे । उनले भने, ‘साथीहरु सोध्छन्– माओवादी कहाँ छ ? केपी ओली जहाँ हुनुहुन्छ माओवादी त्यहीँ छ । स्वार्थीहरु मात्र प्रचण्डजीसँग छन् । माओवादी आन्दोलन बेच्ने प्रचण्ड हो ।’

उनले नेता माधवकुमार नेपालमाथि पनि टिप्पणी गरे । साहले भने, ‘माधवकुमार नेपाल मेरै जिल्ला रौतहटका हुनुहुन्छ । चुनाव हारेर पनि प्रधानमन्त्री बन्नुभयो । मदन भण्डारी महासचिव हुँदा एमालेको राम्रो छवी थियो । माधव नेपाल आएपछि राजालाई दाम चढाउन जानुभयो । झलनाथले एमालेको पहिचान नै ध्वस्त बनाउनुभएको थियो । प्रचण्डले नै ‘एमाले भनेको भाले न पोथी’ भन्नुहुन्थ्यो । त्यस्ता नेताहरु, केही गर्न नसक्ने नेताहरु अब केही गर्छु भन्छन् भने पत्याउन हुँदैन । राजनीतिलाई व्यापार बनाउनेहरुले देश बनाउँछौं भन्दा हासो लाग्छ ।’

उनले भ्रष्टाचारमा डुेबका नेताहरुबाट देश विकास हुने आश गर्न नसकिने बताए । ‘भ्रष्टाचारमा चुर्लम्म डुबेका, केही गर्न नसकेका, व्यक्तिगत स्वार्थभन्दा माथि नउठेका, आफ्नो जीवनमा सबै सिध्याएका नेताहरुले देश बनाउनु र गोरुले दूध दिन्छ भन्नु उस्तै हो ।’, उनले भने ।

साहले भाषणका व्यक्त गरेका अन्य केही विचारहरु :

► केपी ओलीको पक्षमा जनलहर छ । पहिले भन्थे– केपी ओली भनेको मधेस विरोधी हो । यो झुठ रैछ । अहिले तराईमा हामी भेला राख्छौं तर ठूलो सभा बन्छ । भेला राख्दा पनि पच्चीस तीस हजार मानिस भेला हुन्छन् । जनतालाई थाहा छ– झुठ बोल्ने को हो ? मधेसको मित्र केपी ओली नै हो ।

► हिजो प्रचण्डजीले युद्धकालमा आत्मनिर्णयको अधिकार र जातीय स्वायत्तता दिन्छु भन्नुभयो । झापादेखि कञ्चनपुरसम्म एक मधेस प्रदेश भन्नुभयो । अलि सहजता आएपछि तराईमा दुई प्रदेश भन्नुभयो । शान्ति प्रक्रिया अगाडि बढ्दा तीन प्रदेश भन्नुभयो । संविधान सभा चुनावपछि पाँच प्रदेश भन्नुभयो । संविधान निर्माणको बेला आयो– अनि पहिचान भन्नुभयो । प्रचण्डजी जस्तो धोकेबाज र झुठको पछाडि मधेसका जनता लाग्दैन ।

► केपी ओलीले ३० वर्ष अघि, दस वर्ष अघि जे बोल्नुभएको थियो, अहिले पनि त्यही बोलिरहनुभएको छ । उत्पीडित जनता हामीसँग छ । किनभने यहाँ सफलता छ, यहाँ भविष्य छ । तराई मधेसमा केपी ओलीको जयजयकार छ । केपी ओलीसँगै भविष्य छ भन्ने जनताले बुझेका छन् ।

► जनतालाई फेरि पनि झुठो बोल्छु, पछि लगाउँछु भन्ने सोच्नुभएको हो भने गलत हो । अब दुई नम्बर प्रदेशको ३२ वटा सिटमध्ये २० वटा सिट हामी जित्छौं । अहिले तराईमा विकासको मूल फुटेको छ, विकास भएको छ । केपी ओली र हामीप्रति जनताको विश्वास छ तराईमा । काठमाडौंमा भ्रम छ, मिडियामा भ्रम फैलाइएको छ तर तराईको गाउँमा जानुस् अवस्था बेग्लै छ । नेपाललाई समृद्ध बनाउने हो भने प्रचण्डमुक्त नेपाल चाहिन्छ । प्रचण्डको प्रवृत्तिबाट देश मुक्त हुन जरुरी छ ।

► नेपाललाई स्थिरता र समृद्धि चाहिएको छ । बिना चुनाव पद पाउन खोज्ने, जालझेल र षडयन्त्र गर्ने काम लोकतन्त्र हो रे, चुनावबाट पद प्राप्त गर्ने चाहिँ अलोकतान्त्रिक रे । हिजो निरंकुशता मुख्य समस्या थियो, अहिले अराजकता मुख्य समस्या हो ।

प्रतिक्रिया
सम्बन्धित