
काठमाडौं, ३ माग । इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२ जना मानिसको मृत्यु भएको छ ।
उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । शुक्रवार सबेरै एउटा सानो भूकम्प गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो ।
भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् । विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो ।
मृतकको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीहरूको भनाइ छ । विद्युत् आपूर्ति बन्द भई फोनको सङ्केत नहुँदा उद्धारकार्य प्रभावित भएको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट ६ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ ।
त्यहाँको परिस्थिति ‘निकै खराब’ रहेको योग्यकार्तास्थित गज मद विश्वविद्यालयको भूगर्भ विभागमा कार्यरत डा. गायत्री मार्लियानीले बीबीसीलाई बताइन् ।
उनका अनुसार तटीय क्षेत्रमा भत्किएका भवनमध्ये गर्भनरको कार्यालय पनि छ । उनले केही अस्पताल र एउटा होटल क्षतिग्रस्त भएको र केही मानिसहरू तिनको भग्नावशेषमा फसेको बताइन् ।
कोरोनाभाइरस महामारीका कारण प्रभावित क्षेत्रमा प्रतिकार्यका लागि उद्धार गर्ने टोली पुग्न ढिलो हुनसक्ने उनको भनाइ छ ।
स्थानीय समयानुसार मध्यरातपछि १ बजेतिर ७ सेकेन्डसम्म भूकम्पले हल्लाएको थियो ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन । तर हजारौं मानिसहरू घर छोडेर सुरक्षित स्थानमा गएका छन् ।
दुईवटा भूकम्प गएकाले अधिकारीहरूले शक्तिशाली परकम्प जान सक्ने र सुनामी आउन सक्ने चेतावनी दिएका छन् ।
प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित इन्डोनेशिया उच्च भूकम्पीय क्षेत्रमा पर्छ ।
सन् २००४ मा ९.१ म्याग्निट्यूडको भूकम्पपछि हिन्द महासागरमा आएको सुनामीका का कारण १३ देशमा २ लाख २६ हजार जना मानिसको मृत्यु भएको थियो ।
तीमध्ये इन्डोनेशियाको आचे प्रान्तमा मात्र १ लाख ७० हजार जनाले ज्यान गुमाएका थिए । बीबीसी















प्रतिक्रिया