बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

यसकारण फलदायी छ परराष्ट्रमन्त्री ज्ञवालीको नयाँ दिल्ली बैठक

दैनिक नेपाल २०७७ माघ ३ गते १०:१५

काठमाडौं, ३ माघ। सरकारको बटमलाइनअनुसार नै भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सीमा समस्या समाधानका निम्ति समकक्षी एस जयशंकरसँग वार्ता गरेका छन्।

दुई पक्षीय संयुक्त बैठक र भारतीय विदेशमन्त्री जयशंकरसँगको एक्लाएक्लैको भेटमा पनि ज्ञवालीले सीमा समस्यामा नेपालको बटमलाइनबाटै समाधान खोज्नका लागि प्रस्ताव गरेका थिए।

यसबाहेक कोरोनाभाइरस विरुद्धको खोपका विषयमा नेपालको आशा अनुरूपको आश्वासन भारतबाट पाइएको दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिएका छन्। भारतीय विदेशमन्त्री जयशंकरले सुरुआती चरणमा नै नेपालमा खोप उपलव्ध गराउने भारत सरकारका तर्फबाट प्रतिबद्धता गरेका छन्।

सुरुवाती चरणमा अग्रमोर्चामा काम गर्ने ३ प्रतिशतका लागि नेपालले खोप ल्याउन चाहेको र त्यो मात्रा नेपालमा मौजुदा भण्डारण क्षमताले धान्ने अधिकारीहरूले बताउने गरेका छन्। औषधि व्यवस्था विभागले शुक्रबार मात्रै भारतीय खोपलाई नेपालमा अनुमति दिएको उल्लेख गरेको छ। ‘भारतको सकारात्मक जवाफको प्रभावका रुपमा नै विभागले यस्तो घोषणा गरेको हो’, स्रोतले भन्यो।

सीमा समस्या समाधानका निम्ति उच्चस्तरीय संयन्त्रका लगातारका बैठक राख्ने र समाधान खोजिनेमा भारतले चासो देखाएको छ। नेपाल भारत संयुक्त आयोगको यसअघिको बैठक सन् २०१९ को अगस्टमा काठमाडौंमा भएको थियो।

नेपालको परराष्ट्र मन्त्रालयले यसअघि जारी गरेको विज्ञप्तिमा बैठकमा व्यापार, पारवहन, उर्जा, सीमा, कोभिड १९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने उल्लेख गरेको थियो।

भ्रमणअघि सार्वजनिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा ‘नेपालले भारतले अतिक्रमण गरेको भूमी भन्दै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने’ बताएका थिए।

सोहीअनुसार नेपालका तर्फबाट जोडदार रुपमा कुरा उठाइएको थियो। भारतसँग कुटनीतिकस्तरको सम्बन्ध बलियो बनाउँदै जानका लागि यो पहल सकारात्मक रहेको बताइएको छ। एक अधिकारीले भने,‘यसैले सोचेअनुसारकै कुराकानी भएको छ। भारत सकारात्मक छ। भ्रमण फलदायी भएको छ।’

प्रतिक्रिया
सम्बन्धित