बिहीबार, ८ माघ २०७७
DainikNepal.com
बिहीबार, ८ माघ २०७७

प्रतिनिधिसभा विघटन मात्रै गरिएको छैन, निर्वाचन पनि घोषणा गरिएको छ : सञ्चारमन्त्री गुरुङ

दैनिक नेपाल २०७७ माघ १ गते १६:४५

काठमाडौं, १ माघ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गर्नु प्रतिगामी नभई अग्रगामी कदम भएको बताएका छन् ।

प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन मात्रै नभई ताजा जनादेशका लागि निर्वाचनको मिति समेत सोही बखत घोषणा गरिसकिएकाले सरकारको उक्त कदम अग्रगामी भएको मन्त्री गुरुङले बताएका हुन् ।

मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको प्रष्ट पार्दै मन्त्री गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको जिकिर गरेका हुन् ।

‘मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो’, यनले भने, ‘जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो ।’

नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मानिसहरुले निर्वाचन घोषणाको विषयलाई बिषयान्तर गरेर सरकारको आलोचना गरेको बताएका छन् । ताजा जनादेशमा जाने सरकारको निर्णय सही हो वा गलत त्यसको छिनोफानो अब जनताले गर्ने मन्त्री गुरुङको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक वा प्रतिगामी भन्ने नै नहुन जिकिर उनको छ ।

अर्को प्रसंगमा उनले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् । सञ्चारमैत्री नीतिनिर्माणमा आफूू केन्द्रित भएको बताउँदै उनले त्यसका लागि आफूले सरोकारवाला निकायहरुसँगको सहकार्यमा जोड दिएको पनि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित