
काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा करिब १५ हजार वर्षअघि नै योगको शिलशिला शुरू भएको बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय योग दिवस मूल समारोह समितिले बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजना गरेको योग दिवस विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । आदी योगको भूमीको रूपमा रहेको नेपाललाई योगमय बनाउन योग गुरुहरूको महत्वपूर्ण भुमिका रहेको बताउँदै ओलीले भने, ‘मानव, जीव, अन्य जीव र प्रकृतीसँग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वस्थ रहन हरेक दिन योग गर्न आवश्यक छ ।’
जीवनलाई कसरी मानव जीवन बनाउने भन्ने विषय योगसँग जोडिएको उल्लेख गर्दै योगकै कारण अधिकाँस नेपाली स्वस्थ भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
हरेक वर्षको जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउँदै उनले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघबाट पारित गरेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए ।
‘सूर्य दक्षिणायनमा पुग्ने समयमा अन्तरराष्ट्रिय योग दिवस मनाउनु हाम्रो गौरवको विषय हो, विश्वभर योग दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव नेपाल र भारत दुवै देशको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालले ध्यान दिवस बनाउने विषयमा छलफल शुरू गर्न पर्छ ।’
बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीले करिब १० मिनेट योग अभ्यास गरेपछि करिब १ घण्टा सम्बोधन गरेका थिए ।

मुल समारोह समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले योग शिक्षा र अभ्यासलाई सबै नेपालीले ग्रहण गर्नुपर्ने बताए । अधिकाँस नेपालीले योग गर्ने संस्कार शुरू गरेको बताउँदै मन्त्री श्रेष्ठले योगकै कारण अन्य मुलुकको तुलनामा नेपाली जनता स्वस्थ रहेको दाबी समेत गरेका छन् ।
योगलाई व्यापक गर्न सरकारले पाठ्यपुस्तकमै योग विषय समेटेको जानकारी उनले दिएका छन् । सरकारले यो वर्ष ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्य तय गरेको मन्त्री श्रेष्ठको भनाइ छ ।
दिवसमा मन्त्रीहरू, चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधि सभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।
योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोड मानिसले दैनिक योग गर्ने गरेको बताए । अब योग दिवस मात्र नभै ध्यान दिवस मनाउने विषयमा सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालमा २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । यो छैठौं योग दिवस हो । सरकारले यो दिवसलाई सप्ताहब्यापी रूपमा मनाउने भएको छ ।
कार्यक्रमममा योग गुरु यतिराज भट्टराईलाई प्रधानमन्त्री ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले २५ हजार रूपैयाँ नगदसहित सम्मान गरे ।















प्रतिक्रिया