८ कार्तिक २०८३, आइतबार

प्रचण्ड–नेपालको त्यो कदम गौतमले थाहा पाएको भए प्रतिनिधि सभा जोगिने थियो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस। नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम अझै पनि विभाजनबाट पार्टी जोगिनेमा आशावादी छन्। यसका लागि उनी निर्वाचन आयोगको निर्णयको पर्खाइमा छन् भने प्रतिनिधि सभा पनि विघटन नहुनेमा आशावादी छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलाशमा रहेको मुद्दामा उनी धेरै नबोले पनि पार्टीभित्रको समस्या आजको नरहेको उनले खुलाएका छन्। एउटा अन्तरवार्ताका दौरान उनले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्टता देखाए पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको छापामार शैलीको षडयन्त्रले प्रतिनिधि सभा भंग भएको खुलासा गरेका छन्।

‘प्रधानमन्त्रीले जे गर्नुभयो त्यो ठिक होइन तर यसको दोष त प्रचण्ड र माधव नेपालले अविश्वासको प्रस्ताव छापामार शैलीमा लैजाने हस्ताक्षर प्रकरणले पनि लिनुपर्छ’, गौतमले भने,‘मलाई यस विषयमा थाहा दिइएन, दिइएको भए मैले यो सबै अनिष्ट रोक्ने प्रयत्न गर्ने थिएँ।’

पार्टीभित्र आफू तटस्थ रहेको र संकट समाधानका निम्ति अग्रसर हुने भएकैले पनि प्रचण्ड र नेपालले अविश्वासको प्रस्तावबारे जानकारी नदिएको गुनासो गरेका उनले भने,‘यो तयारी आजको थिएन, सरकारको दुई बर्ष पुग्नासाथ ८ महिना अघिदेखि थियो। जुन पटक–पटक मैले रोकेको थिएँ।’

उनले आफू पार्टी मिलाउने अभियानमा रहेको बताएका छन्। चुनावमा गए पनि प्रतिनिधि सभा पुनःस्थापना भए पनि दुवै खेमा मिल्नुको विकल्प नभएको जिकीर गरेका उनी भन्छन्,‘यो हिजो फरक पृष्ठभूमीबाट आएका दुई दल जसरी मिलेका थिए भोली पनि मिल्ने यीनै हुन्।’