शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपाल सहकारी बैंक दर्ताको तयारी तीव्र, राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिदै

दैनिक नेपाल २०७७ पुष २९ गते २१:५६

काठमाडौं, २९ पुस । ‘राष्ट्रिय सहकारी बैंक’को एकाधिकार तोड्ने गरी ‘नेपाल सहकारी बैंक’को दर्ता प्रक्रियालाई तीव्र पारिएको छ ।

प्रस्तावित ‘नेपाल सहकारी बैंक’ दर्ता प्रक्रिया शुरू गर्न आगामी माघ १७ गते काठमाडौंमा प्रारम्भिक भेला आयोजना गरिँदै छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी बैक स्थापना गर्न प्रक्रिया अघि बढाइएको हो ।

देशभर कै सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी बैंक स्थापनाको तयारी भइरहेको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको उनको भनाइ छ ।

भण्डारीका अनुसार प्रारम्भिक भेलासँगै विभागमा दर्ता प्रक्रिया शुरू हुने र राष्ट्र बैंकबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइने छ । ‘नेपाल सहकारी बैंक’को नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएकाले भेला लगत्तै प्रक्रिया अघि बढ्ने तथा मुलुकभरका सहकारी क्षेत्रको सबैभन्दा ठूलो बैक हुने दाबी भण्डारीको छ ।

संस्था दर्ता हुन ५०१ वटा सहकारी संस्था आवश्यक पर्छ । तीमध्ये हालसम्म करिब १ हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने उनले बताए । बैंकमा सहकारी सदस्य हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्ने छ । बैंक स्थापना हुन आवश्यक भन्दा बढी नै फाइल संकलन भइसकेको भण्डारीको भनाइ छ ।

‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, बैंक गठन कार्यदलका संयोजक भण्डारीले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं । प्रारम्भिक चरणमा बैंकको शेयरपूँजी ३ अर्ब रूपैयाँको हुने छ ।’

सहकारी ऐन–२०४८ मा भएको व्यवस्था अनुरूप स्थापना भएको बैंक हाल सञ्चालनमा छ । तथ्याङक अनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैंक स्थापना प्रक्रिया अघि बढाइएको बताइएको छ ।

हाल सञ्चालनमा रहेको सहकारी बैकले नेपाल राष्ट्र बैकबाट बैंकिङ अनुमति पाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित