३ कार्तिक २०८३, मंगलबार

केपी ओलीलाई प्रचण्ड र माधव नेपालले धोका दिए : रायमाझी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले धोका दिएको बताएका छन् ।

पार्टी एकता गर्दा स्वीकार गरिएको आन्तरिक विधानविपरीत गएर प्रचण्ड र माधव नेपालले आफूलाई स्थापित गर्न पार्टीभित्र घृणित खेल खेलेको आरोप समेत लगाएका छन् । बुधबार रिपोटर्स क्लबको साक्षातकार कार्यक्रममा सहभागी भएका मन्त्री रायमाझीले पार्टी सञ्चालनको विधिविपरीत स्वार्थपूर्ण खेलका कारण पार्टी विभाजनको अवस्थासम्म पुगेको दाबी गरेका छन् ।

पार्टी एकतापछि ओलीलाई सर्वसम्मत रुपमा पहिलो अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले प्रश्न गरेका छन्, ‘पहिला सर्वसम्मत गर्ने, अनि अहिले को–कोलाई के–के इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?’

प्रचण्ड–माधव समूहले पार्टी छोडेर गएको आरोप लगाउँदै उनले अहिले ‘हामी यहाँ छौं’ भनेर सडकमा देखा परेको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेता भएको दाबी समेत गरेका छन् । आफू अवसरवादी नेता नभएको स्पष्ट पार्दै उनले भनेका छन्, ‘जनमुक्ति सेना र गुरिल्ला बनाउन विगतमा महत्वपूर्ण भूमिका खेलेको छु । अहिले अवसरवादीका कुरा गर्ने ? को हो अवसरवादी ? कसैले हिम्मत गरोस्, आधार पेश गरोस् न ?’