शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण भोलीदेखि, यस्ता छन् राष्ट्रवादी एजेन्डा

दैनिक नेपाल २०७७ पुष २९ गते ९:५०

काठमाडौं, २९ पुस। १ माघ अर्थात् भोलीदेखि भारत भ्रमणमा निस्कन लागेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएका मुद्दामा दुईपक्षीय वार्ता गर्न लागेका छन्। उनले सो क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीको रुपमा पनि जानकारी गराउनेछन्।

विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को खोपमा सहकार्यदेखि नेपाल–भारत सीमा सहितका विषयमा समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँग वार्ता गर्नेछन्।

परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबारदेखि शनिबारसम्म भारतको भ्रमण गर्ने उल्लेख गरेको छ। नेपालमा राजनीतिक संकट र अहिले प्रधानमन्त्रीले भारतीय टेलिभिजनलाई दिएको अन्तरवार्तालगायतका विषय चर्चामा रहेका बेला ज्ञवालीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षीसँगै संयुक्त आयोगको बैठकमा भाग लिने बाहेक उच्चस्तरीय भेटवार्ताहरू गर्ने पनि परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठकका क्रममा नेपाल भारत सम्बन्धका कैयौँ विषयहरूमाथि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसमा व्यापार, पारवहन, उर्जा, सीमा, कोभिड १९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने उल्लेख गरिएको छ।

नेपालको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव सहित अरू वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

अघिल्लो वर्ष काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्र सहितको भूभाग समेटेर नक्सा जारी गरेपछि नेपालले विरोध जनाएको थियो। नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा खटपट थियो। तर यहि विषय प्रधानमन्त्रीले फेरि उठाइसकेका छन्। ज्ञवालीको यो भ्रमणमा कालापानीलगायतका क्षेत्रको जमिन फिर्ता आउने समेत अपेक्षा गरिएको छ।

भारततर्फबाट त्यहाँका गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयल, स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे र परराष्ट्र सचिव हर्षबद्र्धन श्रींगलाले नेपालको भ्रमणगरेपछि नेपाल–भारत कुटनीतिक सम्बन्ध थप सुधारको उचाईका पुगेको बताइएको थियो।

ज्ञवालीको भ्रमणका सबै तयारी पूरा भइसकेको र लामो समयपछिको उच्चस्तरीय भ्रमण रहेकाले यसको अर्थ बलियो रहेको भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले बताएको बीबीसीले उल्लेख गरेको छ। ‘नेपालका तर्फबाट एउटा अन्तरालपछि भ्रमण भइरहेकाले यसको महत्व छ। यो भ्रमणले हाम्रो सम्बन्धलाई समीक्षा गर्नुको साथै राम्रो सम्बन्धलाई अझ राम्रो बनाउँछ भन्ने मेरो विश्वास छ’, आचार्यले भनेका छन्।

गएको डिसेम्बर महिनामा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना भारतीय समकक्षी एस जयशंकरलाई पत्र लेख्दै नेपालको कूल जनसंख्याको २० प्रतिशतका लागि खोप प्राप्त गर्न सहयोग गर्न अनुरोध गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित