शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

दैनिक नेपाल २०७७ पुष २९ गते ७:३०

काठमाडौं, २९ पुस । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’अनुुसार गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेकामा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेकोे छ । कोभिडका कारण अझै पनि ९.१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएका छैनन् ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । साथै असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग व्यवसाय सञ्चालन हुन भने सकेका छैनन् ।

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको पनि देखिएको छ । गत जेठ–असारमा गरेको अध्ययनमा औसतमा ६१.०३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख थियो ।

अहिले भने नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । मंसिरमा गरिएको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।

सो सर्वेक्षणले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन कारोबार स्थिति मंसिरसम्मको सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

१० पृष्ठ लामो प्रतिवेदनअनुसार २०७७ असारको तुलनामा मंसिरमा आइपुग्दा उद्योग र व्यवसाय सञ्चालनमा सुधार आए पनि पूर्ववत् अवस्थामा उद्योग र व्यवसाय सञ्चालन हुन भने नसकेको देखाएको छ ।

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकको सर्वेक्षणले थोक तथा खुद्रा व्यापारबाट २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेस्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त गरेको थियो ।

सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत पाएको थियो भने खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशत सहभागिता रहेको थियो । पूूर्णभक्त दुवालले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित