२९ आश्विन २०८३, बिहिबार

दार्जीलिङकी सांस्कृतिक जनजागरण अभियन्ता मुखियाको दोस्रो कृति ‘गाडधन’ लोकार्पण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खरसाङ, २८ पुस । दार्जीलिङ पहाडी भएकी सांस्कृतिक जनजागरणकी अभियन्ता आशा मुखिया लामाकी दोस्रो कृति ‘गाडधन’ सोमबार लोकार्पण भयो । यसअघि सन् २०१९ मा उनको पहिलो कृति ‘अक्षर रहर’ लोकार्पण भएको थियो ।

यसपाली पनि विलुप्त हुँदै गएका संस्कृतिका विषयहरुलाई समेटेर उनले पुस्तक ‘गाडधन’ लेखेकी छन् । पुस्तक लोकार्पणको कार्यक्रम उनकै निवास आशालायमा कवि ज्ञानेन्द्र खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कवि कालुसँग रङपहेली मुख्य अतिथि थिए ।

भारतीय नेपालीहरुको सबैभन्दा जेठो संस्था १०८ वर्ष पुरानो गोर्खा जन पुस्तकालयका सचिव विनोद रसाइलीले पुस्तकको बारेमा आफ्नो समीक्षा प्रस्तुत गरे ।

प्रकाशित पुस्तक गाडधनका केही लेखलाई विद्यालयको पाठ्यक्रममा गाभ्नु पर्ने विचार प्रकट गरे । नेपाली पढ्ने पाठकहरुको सङ्ख्या घट्दै गइरहेको बारेमा उनले चिन्ता व्यक्त गरे ।

बिर्सिंदै गएका संस्कृतिका पाटाहरु बारेमा सम्झाउने र झक्झकाउने कार्य पुस्तक गाडधनले गरेको उनले बताए । यस कार्यक्रममा खरसाङका महिला अनि पुरुष कविहरुले कविताहरु पाठ गरे ।

कति कविता कोरोनाको महामारीलाई समेटिएको थियो भने कति संस्कृति बारे जागरुक गराउने खालका अनि कति कवितामा नारी हिंसाविरुद्ध समाजको चेत खुलाउन आहवान गरिएको थियो ।

‘गाडधन’की लेखिका आशा लामा मुखिया भन्छिन्, ‘हाम्रो समाज अनि परम्परागत संस्कृतिसित संलग्न रहेर साहित्यको माध्यमबाट स्वजातीय संस्कृति संरक्षण कार्यमा टेवा खोज्दै संगालिएका चिन्तन सङ्ग्रह ‘गाडधन’ मेरो सानो प्रयासको रुपमा अघि सारेको छु ।’

आशा लामा मुखिया गोर्खा संस्कृतिक संस्थानकी अध्यक्ष हुन् भने दार्जीलिङ पहाडी भेकमा सन् १९९४ देखि संस्कृतिक जनजागरणको अभियानमा एकजना सक्रिय अभियन्ताको रुपमा कार्य गर्दै आइरहेकी छन् ।