शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मुख्यमन्त्री र मन्त्रीहरू सबैलाई कारबाही

दैनिक नेपाल २०७७ पुष २८ गते ९:०४

विराटनगर, २८ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ मा नौटंकी देखाएको छ ।

प्रचण्ड–माधव समूहको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सोमबार सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली निकटका हुन् । राईलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि समर्थन छ ।

प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईसहित ८ जनालाई सांसद पदबाट निलम्बन गरिएको निर्णय कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

प्रचण्ड–माधव समूहका संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङलाई सांसद पदबाट निलम्बन गरिएको जनाएका छन् ।

निलम्बनमा पर्नेहरूमा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको छ ।

दलको कुनै बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाउँदै उनीहरूलाई कारबाही गरिएको प्रदेशसभामा दर्ता भएको पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई मुख्यमन्त्री राईले निलम्बन गरेका थिए । प्रचण्ड–माधव समूहले प्रमुख सचेतक लगायतलाई हटाएको घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित