१ कार्तिक २०८३, आइतबार

फेरि एक होला नेकपा ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । पुस ७ गते दाहाल–नेपाल समूहको नेकपाले पार्टीको १ नम्बर वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय सदस्यमा सीमित बनायो । माधवकुमार नेपाललाई अध्यक्ष बनायो ।

पुस ९ गते ओली समूहको नेकपाले पुष्पकमल दाहाललाई अध्यक्षको कार्यकारी जिम्मेवारीबाट मात्र हटायो, अध्यक्ष पदमा यथावत् राख्यो । पुस १४ गते आफ्नो समूहको शक्ति प्रदर्शनमा नेपालले भृकुटीमण्डपबाट भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट मात्र हटाएको हो, सच्चिएर आउँछन् भने पार्टीले अझै स्वागत गर्न तयार छ ।’

पुस १४ गते नै कपिलवस्तुमा ओली समूहका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘प्रचण्डको आरोपपत्र फिर्ता हुन्छ भने पार्टी एक हुने सम्भावना रहन्छ ।’ यही कुरा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि भनिरहेका छन् । पुस १५ गते प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका नेताहरूले काठमाडौंमा गरेको भेलामा भने, ‘उहाँहरू आउनुहुन्छ र चुनाव लडेर अध्यक्ष लिनुहुन्छ भने म नेतृत्व छोड्न तयार छु ।’

शुक्रबार राष्ट्रिय सभामा नेकपा सचिवालय सदस्यसमेत रहेका दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ थियो, ‘प्रधानमन्त्रीज्यू प्रतिनिधिसभा विघटन गलत थियो भनेर आत्मआलोचनासहित आउनुहुन्छ भने नयाँ सिलसिला सुरु हुन्छ ।’ आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफैं भए । दुवै पक्षका नेकपा नेताहरूको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ?

पार्टीको सिद्धान्तभन्दा पनि पदीय भागबन्डा नमिलेर नेकपा विभाजनको आधार खडा भएकाले त्यसमा अलिकति मात्र मिहिनेत गरे पार्टी एक हुन सक्ने आकलन गौतमको छ । उनले एक/दुई दिनमै अभियानका ५ सय ५१ सदस्य र एकताको आधारपत्र सार्वजनिक गर्ने उनको अभियानमा सहभागी नेता हरि पराजुलीले बताए । उनका अनुसार ती सबै नेकपाकै नेता–कार्यकर्ता हुन्, कतिपय केन्द्रीय सदस्य छन् ।

‘मुख्यतः पार्टी कसरी एक भएको थियो र कसरी विभाजनको चरणमा पुग्यो भन्नेमा हामी जोड दिन्छौं,’ उनले कान्तिपुरसँग भने, ‘सिद्धान्त नमिलेरभन्दा पनि भागबन्डा नमिलेर पार्टी फुट नजिक पुगेको हो, मिलाउने उपायसहित कार्यक्रम ल्याउँदै छौं ।’ उनका अनुसार आआफ्ना कमीकमजोरी सच्याउन अभियानले दुवै पक्षलाई आह्वान गर्नेछ । पार्टी एक बनाउन विधान संशोधन र एक व्यक्ति एक मुख्य जिम्मेवारीको कुरालाई प्राथमिकताका साथ उठाइने छ ।

‘अहिलेको विभाजनमा नीति र विचार देखिन्न, अहिले उठाइएको समस्याको जडमा देखाइएको विधि–पद्धतिलाई विधानमा संशोधन गर्ने हो, त्यसैले विधान संशोधन गर्ने हाम्रो पहिलो प्रस्ताव हुनेछ,’ पराजुलीले भने, ‘साथमा एक व्यक्ति एक पदको कुरालाई जोड दिइनेछ । दुवै पदमा बसेका कोही कमरेड हुनुहुन्छ भने कुन पदलाई मुख्य मान्ने हो, कुन पदलाई मुख्य होइन भन्ने परिभाषा पनि गरिनेछ । दुई अध्यक्षको अन्तिम निर्णय भन्ने वैधानिक व्यवस्था जहाँ गरियो, त्यहींबाट समस्याको सुरुवात भएको छ, अब कमिटीको निर्णय नै सर्वेसर्वा हुने गरी पार्टी एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो ।’

गौतमसहितका नेताले २०५४ मा तत्कालीन एमाले फुटाएर माले बनाएका थिए । त्यतिखेर महाकाली सन्धिको विपक्षमा रहे पनि कालान्तरमा गौतमले त्यही मुद्दा छोडेका थिए । भर्खरै उठ्न थालेको कम्युनिस्ट आन्दोलन एमाले विभाजन हुँदा तितरबितर भएको थियो । २०५६ को चुनावमा गौतम नेतृत्वको मालेले एक सिट पनि नजितेपछि उनीसहितको एउटा ठूलो हिस्सा एमालेमै फर्किएको थियो, उत्तिकै संख्याका कार्यकर्ता तत्कालीन भूमिगत पार्टी माओवादीमा लागेका थिए । विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।