८ कार्तिक २०८३, आइतबार

ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि स्थिति बिग्रिएको गौतमको खुलासा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सरकार संचालनको एउटा कार्यकाल पूरा नहुँदै दुःखदायी पीडा भोग्नु परेको भन्दै चिन्ता जनाएका छन् ।

संयोजक गौतमले शनिबार बिहान विज्ञप्ति जारी गरेर पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुखद् र पीडादायी भएको बताए ।

‘नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक हो’, उनले भनेका छन् ।

‘हामी सबैलाई थाहा हुनुपर्छ, चार दशकदेखि शान्तिपूर्ण संघर्षका विभिन्न रुपहरू प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश वर्षसम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका बीच भएको एकीकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो’, उनले भनेका छन् ।

‘राष्ट्रिय राजनीतिमा महत्वपूर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरूको वीचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो’, गौतमले विज्ञप्तिमा भनेका छन् ।

‘तात्कालीक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानूनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सकेपछि मतभिन्नता त्यति जटिल हुने देखिदैन’, उनले भने, ‘सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो ।’

‘तबसम्म सबै कामहरू अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो’, उनले भने, ‘पार्टी एकीकरणका निम्ति गरिएको पछिल्लो सहमतिअनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो ।’

‘अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो’, संयोजक गौतमले भनेका छन् ।

‘यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरूमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ’, उनले भनेका छन् ।

‘पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो’, उनले भनेका छन् ।

‘पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापेमार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले वेर्होन परेको छ’, उनले भनेका छन् ।

 

‘यतिवेला कार्यकर्ताहरूलाई तानातान गर्दै केपी ओलीको नेतृत्वमा एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा अर्को समूह देखापरेका छन्’, गौतमले भनेका छन् ।

‘प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्’, उनले भने, ‘नीजि क्षेत्रका दर्जनभन्दा बढि कानूनविदहरू पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् ।’

नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ । दुबै समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो हक दावी गर्दै निर्वाचन चिन्ह्मा समेत आफ्नो दावी गरिरहेका छन् ।

गौतमले भनेका छन्, ‘पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनः एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्र्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’