१० कार्तिक २०८३, मंगलबार

खतिवडाको आग्रहपछि ओखलढुंगाका सडक र पुलहरू बनाइदिने मन्त्री नेम्वाङको आश्वासन

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई भेटेर ओखलढुंगाका सडक र पक्की पुलहरू निर्माणका विषयमा आग्रह गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री नेम्वाङलाई भेटेर खतिवडाले सडक र पक्की पुलहरूमा प्रयाप्त बजेट छुट्याएर काम अगाडि बढाउन आग्रह गरेका हुन् । खतिवडाको आग्रहपछि मन्त्री नेम्बाङले माग भएअनुसारका योजनाहरूमा बजेट छुट्याएर काम अगाडि बढाउने आश्वासन दिएको खतिवडाको स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।

कांग्रेस नेता खतिवडाले ओखलढुंगाको सडक र पक्की पुलहरूको काम सुचारु गर्न माग गर्दै मन्त्री र सचिवको ध्यानाकर्षण गराएका थिए ।

खतिवडासँगको भेटमा मन्त्री नेम्वाङले मिर्चैया–कटारी–घुर्मी सडकस्तर उन्नतिको लागि ३० करोड छुट्टाएको जनकारी दिएका छन् । मन्त्री नेम्वाङले अन्य योजनाहरूलाई पनि निरन्तरता दिने प्रतिबद्धता दिएका छन् ।

ओखलढुंगाको विभिन्न आर्थिक वर्षहरूमा छुट्याइएका योजनहरू अलपत्र अवस्थमा छन् । ती आयोजनाहरू समयमा पूरा गर्न मन्त्री नेम्वाङको ध्यानाकर्षण गरिएको कांग्रेस नेता खतिवडाले बताए ।

कांग्रेस नेता खतिवडाले साघुटार–घोराखरी–ओखलढुंगा– सिलौरीघाट सडक कालो पत्रे गर्न माग गरेका छन् ।

लिखु एकवार सडक, मोलुङ एकवर सडक, दुधकोशी एकवार सडक, ढाडे–सिरिसे–रगनी–खिजिदेम्बा–१ हुँदै रावदोलु सडक, नवलपुर–पलापु–कोषभञ्ज्याङ् हुँदै ककणी सडक, घोराखरी–श्रीचौर सडक निर्माण गर्न खतिवडाले मन्त्री नेम्वाङलाई लिखित रुपमै माग गरेका छन् ।

मध्य पहाडीअन्तरगत बहादुरा खोला पुल, खाङ्साङवेसी खोलाको पक्की पुल र सोखु खोला पक्की पुल निमार्णलाई तिब्रता दिन पनि खतिवडाले माग गरेका छन् ।

ओखलढुंगाबाट प्रदेश १ को राजधानी विराटनगर जाने बाटो, मिर्चैया–कटारी–घुर्मी सडकस्तर उन्नति र कालो पत्रे, खार्ते खोलाको पुल, पोकतुङ्ग खोलाको पुल, ओखलढुंगा–सुनकोशी गाउँपालिका र सिन्धुली फिक्कल गाउँ जोड्ने पक्की पुल निर्माणका लागि पनि खतिवडाले मन्त्री नेम्वाङसँग आग्रह गरेका छन् ।

मन्त्री नेम्वाङलाई भेट्न पूर्वसांसद खतिवडाको नेतृत्वमा ओखलढुंगा कांग्रेसका पार्टी उप–सभापति तेजेन्द्र खनाल, उदयपुर महासमिति सदस्य कृष्ण राउत, कांग्रेसका नेता अशोक कार्की, युवा नेता प्रकाश दाहाल, विकास राई, माधव खतिवडा, अनुपम सापकोटा, निश्चल खतिवडालगायतको टोली गएको थियो ।

ओखलढुंगाबाट विघटित प्रतिनिधि सभामा निर्वाचित सांसद यज्ञराज सुनुवारले जिल्लाको विकासमा ध्यान नदिएको भनेर आलोचना हुँदै आएको छ ।

हुन त विगतमा नेकपाका नेता सुनुवारले पिङ उद्घाटन गरेको भनेर पनि आलोचना भएको थियो । सुनुवारले प्रधानमन्त्री केपी ओलीलाई गाली गरेर हिँड्ने गरेका छन् ।