
काठमाडौं, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पुर्याइएकाले असंवैधानि भन्न नमिल्ने बताएका छन् ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा आफ्नो धारणा व्यक्त गर्दै नेता गौतमले भने, ‘सर्वोच्चमा परेका सबै रिट संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हुन् भन्न मिल्दैन त्यसैले म चुप लागेको हुँ ।’
गौतमले वाक स्वतन्त्रता छ भन्दैमा जथाभावी बोल्न नहुने पनि बताएका छन् । ‘हामीलाई वाक स्वतन्त्रता छ । मौलिक अधिकार छ । बोल्न मिल्छ तर त्यो सर्वोच्चमा छ । मदन भण्डारीपछि सबैभन्दा धेरै प्रशिक्षण दिने मै हुँ हामीले संविधानको सर्वोच्चतालाई मान्छौं, संविधानभित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा बदनाम गर्नु हुन्न भन्ने लाग्छ’, गौतमले भने ।
प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा आफूलाई एक बचन नसोधिएको भन्दै गौतमले प्रचण्ड र माधव नेपालप्रति असन्तुष्टि पनि व्यक्त गरे । ‘पटक–पटक मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिएँ । यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन’, गौतमले भने, ‘पहिलोपटक राष्ट्रिय सभामा उभिएर बोल्दै गर्दा म खुशी हुनुपर्ने हो, तर छैन ।’
पार्टी फुटाउनु नै थियो भने एकता किन गरेको भनेर प्रश्न गर्दै गौतमले पार्टी फुटको कुनै औचित्य नभएको समेत स्पष्ट पारेका छन् । नेपालमा कम्युनिष्ट एकता अझै आवश्यक रहेको भन्दै उनले भने, ‘म अहिले कुनै पनि समूहमा छैन । पार्टी एकता बचाउनका लागि म लागिरहेको छु ।’















प्रतिक्रिया