
काठमाडौं, २३ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विग्रहसँगै विभिन्न जिल्ला कमिटीको बैंक खातामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरको आँखा गडेको छ। यहि क्रममा कैलालीको धनगढीमा रहेको बैंकको ३० लाख रुपैंया रकम गायव पार्न प्रचण्ड–नेपाल पक्षका नेता भीम रावल सक्रिय भएको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै नाम नलिई भनेका थिए।
उनै रावललाई ओली पक्षकले कारबाही गरेको छ। प्रदेश कमिटी विस्तार गर्दै रावललाई प्रदेश संयोजकबाट जिम्मेवारीमुक्त गरी लेखराज भट्टलाई दिइएको छ। प्रदेश अध्यक्षमा भने कर्णबहादुर थापालाई जिम्मेवारी तोकिएको हो।
‘पार्टीको अनुशासनमा नरहेको र आर्थिक विचलनमा पनि सक्रिय रहेको देखेपछि रावललाई अध्यक्षको निर्देशनमा दण्ड दिइएको हो’, ओलीनिकट नेता भन्छन्,‘पार्टीमा बसेर आर्थिकलगायतका विषयमा मनपरी गर्न पाइन्न।’
रावल पहिलादेखि नै प्रधानमन्त्री ओलीका कडा आलोचक थिए। सरकार बनेका दिनदेखि नै रावलले ओलीविरुद्ध गुटबन्दी मात्र होइन अभिव्यक्ति पनि खुला रुपमा दिएका थिए। नेकपा विवादको सुरुआती चरणदेखि नै चरम गुटबन्दीको नेतृत्व रावलले गरेको बताइएको छ।
‘अहिले नेकपा विभाजनको चरणमा पुग्ने कारक पनि रावल हुन्। उनले पद नपाएका कारण, मन्त्री नपाएका कारण पार्टीलाई विग्रहमा लगेका हुन्, उनलाई यसै माफी पनि दिइनेछैन’, ओलीनिकट नेता भन्छन्,‘माधव नेपालको मान्छे भन्दै जिल्लामा कारबाही गरिएकालाई पनि विधानविपरित फुकुवा गरी जिम्मेवारी दिने काममा रावलको सक्रियता रहेको थियो।’
नैतिक आचरणमा दाग लागेका दिर्ध सोडारीलाई रावलकै प्रस्तावमा कैलाली पार्टी अध्यक्षमा फर्काइएको थियो। ‘बदनाम गर्ने र कुनै आचरण पनि नभएकालाई यसरी फर्काउनुलाई पार्टीको जिम्मेवारी दिनु ठिक हो त?’, ति नेता प्रश्न गर्छन्।















प्रतिक्रिया