
भिमाद (तनहुँ), २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष, निवर्तमान सांसद एवं केन्द्रीय सदस्य केदार सिग्देलले ओली सरकारले जनपक्षीय काम गर्दा यो अवस्था आएको बताएका छन् ।
नेकपा भिमाद नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निवर्तमान सांसद एवं केन्द्रीय सदस्य केदार सिग्देलले पार्टी भित्रका अतिवादी नेताहरूले गर्दा सरकारले संसद विघटन गरी जनताद्वारा फेरि जनअनुमोदित भई देशमा शान्ति र विकासको अभियानमा लाग्नका लागि चुनावको घोषणा गरेको बताए ।
ओली सरकारले गरेको जनपक्षीय कामहरू देख्न र सुन्न नसक्ने पार्टीभित्रका नेताहरू नै सरकार ढाल्नका लागि पटक–पटक लागि परेको हुँदा देश बिगार्ने नेताहरूको हातमा देश सुम्पनु भन्दा जनताको नासो जनतालाई नै फिर्ता दिई पुनः जनतामा नै जानका लागि संसद विघटन गरेको बताए ।

बहुमत प्राप्त सरकारले संविधान अनुसार नै जनतामा जाने फैसला गरेको हुँदा लोकतन्त्रको सुन्दर पक्ष चुनावमा जानका लागि संसद विघटन गरेको बताए । सरकारको यो नियम संवैधानिक छ । लोकतन्त्रमा जनता नै जनार्दन हो, जनताद्वारा अनुमोदित सरकारले देशको नेतृत्व गर्दछ ।
पार्टीभित्र देश र जनताको मुद्दा भन्दा पनि अवैधानिक तवरबाट देश र पार्टी कब्जा गर्ने क्रियाकलाप गरेपछि यो अवस्था आएको बताए ।
कम्युनिष्टको केन्द्र बनाउने अभियानको साथ पार्टी एकता बनाउन ओली लागेको तर शक्ति र सत्तालाई नै केन्द्रविन्दुमा राखेर अगाडि बढ्न खोजेपछि आजको अवस्था आएको उनले बताए ।
कमिटीका सचिव ईमान थापाका अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू दधिराज सुवेदी, टुकराज सिग्देल लगायतका नेताहरूले धारणा व्यक्त गरेका थिए ।















प्रतिक्रिया