बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गैरआवासीय नेपाली संघको ‘विशेष अधिवेशन’ रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

दैनिक नेपाल २०७७ पुष २० गते २१:०२

काठमाडौं, २० पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यही जनवरीमा आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ ।

संघको विधान र प्रचलित प्रावधानविपरीत विधान संशोधनको एजेण्डा पनि घुसाइएकाले उक्त अधिवेशन रोक्न माग गरिएको हो । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का ४ जना सदस्य तथा एक क्षेत्रीय संयोजकले संघको विधान र प्रचलित प्रावधानविपरीत नेतृत्वले विशेष अधिवेशन आह्वान गरेकाले त्यसलाई रोक्न माग गरेका हुन् ।

सन् २००३ मा स्थापना भएको संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । यसका गतिविधि अनुगमन गर्दै आवश्यक निर्देशन दिने अधिकार मन्त्रालयमा रहेको छ ।

संघका आइसीसी सदस्यहरू चिन्तामणि सापकोटा (स्पेन), शंकर खड्का (संयुक्त राज्य अमेरिका), दीपक शर्मा (अष्ट्रेलिया), विजय मोक्तान (जर्मनी) तथा अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले विशेष अधिवेशन रोक्न माग गर्दै मन्त्रालयमा निवेदन दिएका हुन् ।

संघको केन्द्रीय समितिबाट निर्णय समेत नगराई नेतृत्वले जबरजस्ती यही जनवरी २३ र २४ का लागि विशेष अधिवेशन तोकेको निवेदकहरूले दाबी गरेका छन् ।

‘२०२१ जनवरी २३ र २४ तारिखमा आयोजन गर्ने भनिएको गैरआवासीय नेपाली संघको भर्चुअल विशेष महाधिवेशन प्रचलित नेपाल कानून, संघको विधान तथा आम सदस्यहरूको भावना विपरीत हुन लागेको र सो विशेष महाधिवेशन स्थगन गर्न संघका अध्यक्षलगायत पदाधिकारीहरूलाई पटक–पटक अनुरोध गर्दासमेत कुनै सुनुवाई नगरेकाले बाध्य भई गैरआवासीय नेपालीसम्बन्धी नियमावलीको २०६६ को नियम १६ (१) बमोजिम अनुगमन गरी नियम १६ (२) बमोजिम निर्देशन दिई सो विशेष महाधिवेशन स्थगित गराई पाउँ,’ परराष्ट्र मन्त्रालयमा पेश गरिएको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित