शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा पुनः बाबुराम थापा चयन

दैनिक नेपाल २०७७ पुष २० गते २०:४४

 काठमाडौं, २० पुस । अभियान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः बाबुराम थापा चयन भएका छन् ।

सोमबार काभ्रेको पनौतीमा सम्पन्न संस्थाको पहिलो वार्षिक साधारणसभाले थापालाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । थापा संस्थाको संस्थापक अध्यक्ष समेत हुन् ।

सोमबारको साधारणसभाले बाबुराम थापा, भोजराज भट्टराई, भारती पाठक र प्रविण झालाई सञ्चालक चयन गरेको थियो । साधारणसभा लगत्तै बसेको नवनिर्वाचित सञ्चालक समितिले निर्वाचित सञ्चालकहरूमध्येबाट थापालाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष बाबुराम थापाले गरेका थिए भने संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले सभा सञ्चालन गरेका थिए ।

अभियान लघुवित्तको हाल जारी पूँजी २५ करोड रूपैयाँ र चुक्ता पूँजी १५ करोड २५ लाख छ । बागमती प्रदेशस्थित काभ्रेको पनौती नगरपालिका–४ मा संस्थाको केन्द्रीय कार्यालय अवस्थित छ ।

विपन्न वर्ग तथा ग्रामीण क्षेत्रमा दीगो र भरपर्दो वित्तीय सेवा पुर्याई देशको गरीबी न्यूनीकरणमा योगदान दिने मुख्य लक्ष बोकेको संस्थाले छोटो अवधिमा नै देशभरका ६ वटा प्रदेश अन्तर्गत १९ जिल्लामा ३५ वटा शाखामार्फत लघुवित्त सेवाप्रदान गरिरहेको बताएको छ ।

छोटो अवधिमा नेपालका दुर्गम ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी त्यहाँका मानिसहरूलाई वित्तीय सेवा प्रदान गर्ने, ग्रामीण क्षेत्रका मानिसहरूमा वित्तीय सचेतना, उद्यमशीलता र जीविकोपार्जनका लागि शीप प्रदान गर्ने, उच्च उत्साह र शीपयुक्त मानव श्रोतको साथ सुव्यवस्थित, प्राविधिक रूपमा सक्षम र दीगो संस्थाको विकास गर्ने र परिवारको महिला सदस्यको सहभागितामा पारिवारिक आय वृद्धिमा सघाउ पुर्याउन सफल भएको संस्थाको दाबी छ ।

अभियानले लघुवित्त विपन्न तथा ग्रामीण क्षेत्रमा सहज रूपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । कर्जा दिएर मात्र हुँदैन, शीप र उद्यमशीलता विकाससम्बन्धी तालिम समेत प्रदान गर्नुपर्छ भन्ने मान्यता बोकेर सदस्यमाझ वित्तीय द्रुत गतिमा लघुवित्त सेवा प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित