
काठमाडौं, २० पुस । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुशी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छिन् ।
मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरूको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् । किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको मन्त्री अर्यालको भनाइ छ ।
‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरूलाई खुशी बनाउन सकिदैन’, मन्त्री अर्यालले भनिन्, ‘कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौं’ भनेको छ, तर किसानहरूले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिति राम्रो होइन । दूध उत्पादन गर्यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भीर कुरा हो । मान्छेलाई निराश बनाउने ऋण थपाउने कुरा राम्रो होइन ।’
बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडि बढ्न नसकिने बताइन् । ‘आजको आवश्यकताहरू पूर्ति गर्नेगरी जानुपर्यो । आजका समस्या के हुन ? आजका समस्या समाधान गर्न के गर्ने भन्ने हिसाबले गहन अध्ययन गरेर जाउँ’, उनले भनिन् ।
आफ्नो कार्यकालमा केही नयाँ गर्नेगरी जान कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले हिजोको नेतृत्वले जे गर्यो त्यसको निरन्तरता मात्र आजको आवश्यकता नभएको बताइन् । मेरो पालामा केही नयाँ चिज दिन्छु भन्ने हिसाबले अगाडि बढ्न समेत उनले आग्रह गर्दै नयाँ सिस्टम बसाल्छु भन्ने ढंगले अगाडि बढ्न निर्देशन दिएकी छिन् ।
सरकारले संघीय, प्रादेशिक र स्थानीय गरी ३ खालको बजारको परिकल्पना गरेको बताउँदै मन्त्री अर्यालले कस्ता बजारलाई कुन बजारमा राख्ने भन्ने ढंगले मापदण्ड बनाउन निर्देशन दिइन् ।
‘कस्तालाई कुन बजारमा राख्ने ? तपाईहरू मापदण्ड बनाउनुस् । यसलाई कार्यान्वयन गर्नेगरी जाउँ । किसानलाई उत्साहित बनाउन यो कार्य जरुरी छ’, उनले भनिन्, ‘हाम्रो बजार हाम्रो हातमा छैन । कोभिडको बेला किसानहरूले तरकारी, फलफूल उत्पादन गरे । काठमाडौं आइपुग्दा हाम्रो बजार त अर्कैले कब्जा गरिसकेको छ । अनि किसानहरू फर्केर जाने स्थिति बन्यो । बजारको वर्गीकरण गरेर ल्याउनुस् । हाम्रो बजार हाम्रो हातमा नलिई किसानहरूको हित हुँदैहुँदैन । योजना लिएर आउनुस् । आजसम्मको तपाईहरूको अध्ययनले के भन्छ ?’, उनले प्रश्न गरिन् ।
कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरूले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसको बारेमा रिपोर्ट ल्याउन कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
सरकारका तर्फबाट विक्री भएका बेर्नाबाट उत्पादन भएन भन्ने कुरा बढी उठ्ने गरेको भन्दै उनले यस सन्दर्भमा सत्यतथ्य पत्ता लगाएर रिपोर्ट दिन समेत निर्देशन दिइन् । दुग्ध विकास वोर्ड र संस्थान दुई वटा निकाय रहेकाले संस्थान र वोर्डहरूको अन्तरसम्बन्धहरूलाई छुट्याएर अलग–अलग संरचना राखेर झन्झटिलो बनाउनु भन्दा एकीकृत गर्न सकिन्छ भने यस विषयमा सोच्न समेत मन्त्री अर्यालले आग्रह गरेकी छिन् ।
किसानहरूले दूधको भुक्तानी नपाएको कुरा आइरहेको भन्दै उनले दीगो बजार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान जान जरुरी रहेको बताइन् । ‘किसानहरू आफूले उत्पादन गरेको दूधको भुक्तानी किन पाएनन् ? कोभिडका कारणले पाएनन् कि अरु पनि कारण छन् ? किसानलाई उत्पादन गर भन्ने तर किसानको दूधको मूल्य नदिने भन्ने कुरा राम्रो भएन’, मन्त्री अर्यालले भनिन्, ‘यसको दीगो समाधान के हो ? उत्पादन रोक्नु भएन । उचित समयमा उचित मूल्य कसरी दिन सकिन्छ ? दीर्घकालीन समाधानसहित अगाडि बढ्नुपर्छ । नत्र यस्ता विषयहरू बल्झिरहन्छन् ।’















प्रतिक्रिया