३ कार्तिक २०८३, मंगलबार

सुनसरीको दुहबीमा नर्भिकले काठमाडौंकै स्तरको अर्को अस्पताल चलाउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरीको दुहबीस्थित लुकरणदास गंगादेवी चौधरी च्यारिटी अस्पतालको भवन ।

काठमाडौं, २० पुस । नर्भिक इन्टरनेशनल हस्पिटलले पूर्वी नेपालको चर्चित औद्योगिक कोरिडोर विराटनगर–इटहरी क्षेत्रमा काठमाडौंकै स्तरको अर्को अस्पताल सञ्चालन गर्ने भएको छ ।

चौधरी ग्रुपले सुनसरीको दुहबीमा अवस्थित श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी हस्पिटललाई मर्मतसम्भार र आधुनिकीकरण गरी काठमाडौंको नर्भिक अस्पताल स्तरकै सेवा प्रवाह गर्न लागेको हो ।

यो अस्पताल विगत ३ वर्षदेखि बन्द अवस्थामा छ । अस्पतालका भवनहरूमा झार पलाइसकेका छन् । उराठलाग्दो भइसकेको अस्पताललाई नर्भिक अस्पतालले पुनर्जीवन दिन लागेको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीका अनुसार नर्भिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दुहबीको सो अस्पताललाई पुनः सञ्चालनमा ल्याउने र स्तरोन्नति गर्ने उद्देश्यले ५ करोड रूपैयाँ बढी लगानी गर्ने बताइएको छ ।

दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको चौधरीले बताएका छन् । ‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रूपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं’, अध्यक्ष चौधरीले भने, ‘२ करोड रूपैयाँ बराबरको स्वास्थ्य उपकरण पनि उपलब्ध गराउनेछौं ।’

बन्द हुनुअघिसम्म १५ शै्या क्षमतामा सीमित सो अस्पताललाई २५ शै्यामा स्तरोन्नति गरी व्यवस्थित ढंगले सञ्चालन गर्ने र यो कार्य ६ महिनाभित्र पूरा गरिसक्ने चौधरीले घोषणा गरेका छन् ।

नर्भिकको सीएसआरअन्तर्गत अस्पताल सञ्चालन हुने भएकाले त्यहाँबाट सेवा लिँदा सर्वसाधारणले न्यून चार्जेजहरू मात्र तिर्नुपर्ने व्यवस्था गरिने बताएको छ । ‘बेला बेला नर्भिकबाटै पनि स्वास्थ्यकर्मीको टोली अस्पतालमा गएर सेवा दिने छन्’, चौधरीले थपे, ‘नियमित रूपमा त्यहाँ पनि चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको टोली उपचार सेवाका लागि उपलब्ध हुने छन् ।’

खिचातानीको शिकार

चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास ०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए ।

सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरू सञ्चालनमा रहेका थिए । कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो । यही दुःखलाई अन्त गर्ने उद्देश्यले सो बेला पनि चौधरी ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै सो अस्पताल सञ्चालनमा ल्याएको थियो ।

सुनसरीको दुहबीस्थित लुनकरणदास गंगादेवी चौधरी च्यारिटी अस्पताल परिसरमा अस्पताल उद्घाटनको दिन स्व. लुनकरणदास र गंगादेवी चौधरी ।

अस्पतालको उद्घाटन तत्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए । उद्घाटनपछिका केही वर्षसम्म अस्पतालले निकै राम्रो सेवा दिएको थियो । तर, समयक्रमसँगै सो अस्पताललाई स्थानीय राजनीतिक दलहरूले स्वार्थ पूर्ति गर्ने थलो बनाउन थालेपछि अस्पतालको सेवाको गुणस्तर घट्दै जान थाल्यो । फलस्वरूप अस्पताल करिब ३ वर्षदेखि बन्द हुन पुग्यो ।

बन्द भइसकेको अस्पताललाई पुनर्जीवन दिनका लागि चौधरीले धेरै प्रयास गर्दा पनि स्थानीय राजनीतिक खिचातानीले त्यो सम्भव भएको थिएन । ‘राजनीतिक खिचातानीकै शिकारकै कारण हामीले चाहेअनुसार र वास्तविक स्वास्थ्य सेवा दिन सकेनौं, त्यसमा सञ्चालक समिति दुःख र खेद प्रकट गर्दछ’, अस्पतालको सञ्चालक समितिका उपाध्यक्ष गौरीशंकर रौनियारले भने, ‘अब भने यो अस्पताललाई राजनीतिक खिचातानीभन्दा पर राखेर पुनः सञ्चालन गर्ने जमर्को गरेका छौं ।’

यो अस्पताल सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग नर्भिक अस्पतालले गर्ने भए पनि अस्पताललाई राम्रो ढंगले सञ्चालनका लागि स्थानीयहरूकै सहभागितामा सञ्चालक समिति बनाइने छ । चौधरी ग्रुपले दुहबीबासीलाई उपहारको रूपमा यो अस्पताललाई स्तरोन्नति गरी स्तरीय बनाइदिने र यसको रेखदेख र संरक्षण स्थानीयले गर्नुपर्नेमा रौनियारको जोड छ ।

‘चौधरी ग्रुपले दुहबीबासीका लागि वर्षौदेखि गरिरहेको यो माया र स्नेहका लागि हामी अनुग्रहित छौं’, स्थानीय सामाजिक अगुवा समेत रहेका रौनियारले भने, ‘बन्द भइसकेको अस्पताललाई पुनर्जिवीत गराउने कुराले हामी दुहबीबासी उत्साहित भएका छौं ।’