शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ई–सेवाबाटै भुक्तानी गर्न सकिने

दैनिक नेपाल २०७७ पुष २० गते १३:५०

काठमाडौं, २० पुस । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् ।

ई–सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई ई–सेवामा आबद्ध गर्दै लगेको छ । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले हस्ताक्षर गरेका छन् ।

ई–सेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्ने छन् भने ई–सेवा एकाउन्ट नभएका सदस्यले नजिकको ई–सेवा जोन, पोइन्ट तथा ई–सेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्ने छन् ।

यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनका साथै अन्य खर्चमा समेत कटौती हुने छ । शुरूको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन ।

अहिलेको विषम परिस्थितिमा भीडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनीकरण हुने छन् ।

ई–सेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो । ई–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवीत्त संस्था हो । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस वित्तीय संस्थाका ७२ वटा शाखा छन् । संस्थाले हाल साढे ५ अर्ब कर्जा लगानी गरेको छ भने डेढ अर्ब भन्दा धेरै बचत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित