३ कार्तिक २०८३, मंगलबार

सुरक्षित गर्भपतनसम्बन्धी सेवा प्रदान गर्न मेरी स्टोप्स नेपालद्वारा हेल्पलाइन शुरू

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल तथा मेरी स्टोप्स् नेपालले निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ ।

सुनौलो परिवार नेपाल तथा मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाइले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको बताइएको छ ।

‘हाम्रो ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नोरोजाईमा प्रजनन्सम्बन्धि निर्णय लिन सहयोग गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

सुनौलो परिवार नेपाल÷मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।

११४३ ले ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउने संस्थाको भनाइ छ ।

११४३ मा समस्या परेकाहरुले ‘मेरी साथी’ काउन्सेलरहरूसँग कुरा गर्न सक्ने छन् । उनीहरुले प्रजनन्सम्बन्धी रोजाईका बारेमा मार्गनिर्देशन दिने बताइएको छ । ‘मेरी साथी’ ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजेसम्म खुला रहने छ ।

सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैरसरकारी संस्था हो । सुनौलो परिवार नेपालले मेरी स्टोप्स् नेपालको साझेदार संस्थाको रुपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दछ । यस संस्थाले नेपालका युवा र वयस्कका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दै आएको छ ।