
काठमाडौं, १८ पुस । रुकुमपश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् ।
आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको ९ महिना बितिसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसँग पुनः निष्पक्ष छानबिन र न्यायको माग गरेको बताएका छन् ।
‘जनप्रतिनिधिको संलग्नतामा यो घटना घटेको थियो । कानूनबमोजिम दण्ड दिनुपर्छ’, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले भने, ‘उक्त घटना जातीय विवादले गर्दा घटेको हो । चानचुने कुरा छैन ।’
घटनाको मुख्य पात्र मृतक नवराज विकका बुबा मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल १ लाख रुपैयाँ धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यो कस्तो न्याय हो । सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।’
त्यस्तै सोही घटनाका मृतक गोविन्द शाहीकी आमा देवी शाहीले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्, ‘हामी न्याय पाउन काठमाडौं आएका हौं । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौं ।’ प्रहरी प्रशासनको कमजोरीका कारण शव ढिला पाएको उनको भनाइ छ । ‘हामी पार्टी र नेतालाई चिन्दैनौं’, शाहीले भनिन् ।
त्यसैगरी सञ्जीव विककी आमा सीता विकले कहाँ छ कानून भन्दै सरकारसँग् प्रश्न गरिन् ।















प्रतिक्रिया