
काठमाडौं, १७ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तयारीका साथ लागेका प्रमाण फेला परेका छन्।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गिराउनका लागि अविश्वासको प्रस्तावदेखि प्रदेश सरकार पनि भताभुङ्ग पार्ने षडयन्त्र अहिले भइरहेका घटनाक्रमले पुष्टि गरेको छ।
नेकपामा प्रचण्ड–नेपाल समूहले केन्द्रीय समितिको बैठक भन्दै प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट हटाउने किर्ते निर्णयसहित संसदीय दलको नेताबाट पनि हटाएको थियो। जहाँ प्रचण्डलाई उभ्याइयो भने अध्यक्षमा नेपाललाई ल्याइयो।
‘यो पूरा तयारी साथ भएको थियो। एकीकरण कायम राख्नुहुन्न भन्ने मानसिकताका साथ कार्यकर्ता र आफूनिकट नेता खटाइए’, स्रोतले भन्यो।
घटनाक्रम पनि त्यसरी नै विकास भयो। केन्द्रमा विवाद चरम भइरहेका बेला बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरियो। प्रचण्ड–नेपाल समूहले राजधानीमा भेला गरी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेताका रुपमा अनुमोदन गरेका छन्।
‘पार्टीलाई बलियो हुन नदिनका लागि प्रचण्डहरू देशभरी नै तयार थिए भन्ने त कर्णाली प्रदेशको विवादले नै प्रस्ट पारेको थियो। यो तयारी त्यसबेलादेखि थियो’, स्रोतले भन्यो।
यसैगरी यो उपक्रम प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अविश्वासको प्रस्ताव दर्ता गरियो। बागमती प्रदेश र १ नम्बर प्रदेशमा ७ गतेका लागि प्रदेश संसद डाकिएको छ। राईको ठाउँमा पराजित भएका भीम आचार्यलाई संसदीय दल र आगामी मुख्यमन्त्रीका रुपमा पनि प्रस्ताव गरियो।
‘उनीहरू (प्रचण्ड–नेपाल)ले नै विभाजन चाहेको भन्ने त यतिले मात्र प्रमाणित गरिसकेको थियो, थप बलियो त सरकार नै नरहेको २ नम्बर प्रदेशमा पनि संसदीय दलको नेताबाट सत्यानारायण मण्डललाई हटाउने खेल’, स्रोतले भन्यो,‘आइतबार उहाँलाई अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी छ।’
केन्द्रमा नेताको विवाद भएको विषयलाई तलसम्म एक्शनमा नै पुराउनका निम्ति प्रचण्ड–नेपालले निर्देशन दिए। बाँडफाँटका आधारमा यसरी गरिएका प्रमाण नै नेकपा विभाजनका असली प्रमाण रहेको दाबी गरिन्छ।















प्रतिक्रिया