शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘फूल बुट्टे सारी’ को चाइल्ड भर्सन सार्वजनिक

दैनिक नेपाल २०७७ पुष १५ गते २०:००

काठमाडौं । चर्चित ‘फूल बुट्टे सारी’ गीतले युट्युबमा करोडबढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ ।

काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो । पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ ।

महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो । गीतको लोकप्रियता भ्यूजले जति मापन गरिएला, त्योभन्दा हरेक उमेर समूहको व्यक्तिको जनजिब्रो झुण्डिएकोले गर्नेछ । हिजोआज सबै उमेर समूहले फूल बुट्टे सारी मन पराएको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बताए ।

कोरोनाको कहरका बेला सार्वजनिक भएका गीतले पाएको उचाइले सांगीतिक क्षेत्रलाई चलायमान गराएको श्रेष्ठको भनाइ छ । सम्मानित मदनकृष्ण र राजबाबुले पनि ‘फूल बुट्टे सारी’गीतको टीमलाई बधाई तथा शुभकामना दिए । ‘फूल बुट्टे सारी’मा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर रहेको छ । जसमा शब्द र संगीत राजनराज सिवाकोटीको रहेको छ भने एरेन्ज सञ्जीव बराइलीको छ ।

महिला र पुरुष स्वरमा रहेका दुवै गीतको भिडिओलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । साथै दुवै गीतको मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ । महिला स्वरमा रहेको फूल बुट्टे सारीमा पल शाह र मालिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडिओमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ ।

बुधबार आयोजित सो कार्यक्रममा दुवै भर्सनको गीतको अडिओ तथा भिडिओका टीमलाई वरिष्ठ कलाकार मदनकृष्ण र गीतकार राजुबाबुको हातबाट सम्मान गरिएको थियो । अब चाइल्ड भर्सनमा पनि महिला र पुरुष स्वरमा दर्शक र स्रोताको मन जित्न सफल फूल बुट्टे सारी गीत अब चाइल्ड भर्सनमा पनि आएको छ ।

उक्त विशेष समारोहको अवसरमा चाइल्ड भर्स्नको फूल बुट्टे सारी गीत सार्वजनिक गरिएको हो । जसमा अरिष्मा सिवाकोटीको स्वर रहेको छ । एकछत्र राजनराजन पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्काे गीत ल्याउनेमा राजनराज सिवकोटी अग्रभागमा देखिन थालेका छन् । फूल बुट्टे सारी गीत एक दशक अघि ल्याएका राजनराजका पछिल्ला वर्ष एकपछि अर्काे गीतले सांगीतिक बजार तताउन थालेको छ ।

संगीत, शब्द र स्वरमा दख्खल राख्ने राजनराज सांगीतिक क्षेत्रका हस्तीका रुपमा देखापरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित