८ कार्तिक २०८३, आइतबार

सशस्त्रका ७ एसएसपी डिआईजी बन्दै, सुकुम्बासी समेत नछाडेका ठाडा मगरलाई झाँक्रीले बोकिन्

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डिआईजी) बढुवा प्रक्रिया थाले सँगै सशस्त्रका ९ एसएसपीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीले डिआईजी हुन आवश्यक आवेदन मागको सुचना जारी गरेसँगै एसएसपीहरु शक्ति केन्द्रमा हारगुहार गर्न थालेका हुन् । सशस्त्रमा अहिले सात डिआईजी पद रिक्त छ ।

बढुवा वरीयतामा अगाडि आउन सकेको खण्डमा महानिरिक्षक (आईजी)को रोलक्रममा परिने हुनाले शक्ति केन्द्र रिझाउन दौडधुप बढेको हो । हालको नियमावलीअनुसार अहिले रिक्त सातै पदमा बढुवा गरिए पनि आईजीको रोकलक्रममा भने गणेशबहादुर ठाडा मगर र कमल गिरी मात्रै रहने छन् । ३० बर्से सेवा अवधि हटेको खण्डमा भने आईजीको रोलक्रममा अभि खत्री पनि थपिनेछन् । अन्य भने ३० बर्से सेवा अवधि र पदावधिका कारण अनिवार्य अवकाशमा जानेछन ।

स्रोतका अनुसार अहिले खत्री, ठाडामगर र गिरी एक अर्कालाई पछि पार्न चर्को लबिङमा छन् । अहिलेको वरियतामा खत्री अगाडि रहेकाले ठाडा मगर उनलाई जसरी पनि आफूभन्दा पछि पार्न चर्को लबिङमा लागिपरेका छन् ।

हालको वरीयतामा खत्री एक, ठाडा मगर ३ र गिरी ५ नम्बरमा छन् । एसएसपी शम्भु सुवेदी २ र दुर्गाप्रसाद भट्टराई ४ नम्बरमा छन् । सुवेदी र भट्टराईले भने पहिला नै अवकाश पाउने भएकाले उनीहरू त्यति धेरै लबिङमा देखिँदैनन् । उनीहरू पाँचै जना २३ असार २०७४ मा एसएसपी बनेका थिए । यी पाँच जनापछि कुलबहादुर नेम्वाङ छन् ।

त्यसो त आफ्नै कारण विवादमा आइरहने स्वभावका कारण ठाडा मगरलाई अघि आउन फलामको चिउरा चपाउन जस्तै भएको छ ।  चेन अफ कमान्ड नमान्ने, सामाजिक सञ्जालमा जथाभाबी लेख्ने उनको स्वभाव नै छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका प्रमुख एसएसपी ठाडा मगरलाई सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै केही दिनअघि मात्रै सशस्त्र मुख्यालयले स्पष्टीकरण सोधेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प चुनावमा हारेको समाचार आएलगत्तै एसएसपी ठाडा मगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए । जबकि, सशस्त्रको नियमावलीले कुनै पनि देशका राष्ट्रप्रमुखलाई होच्याउने अधिकार मातहतका कसैलाई पनि दिएको छैन ।

साधारण व्यक्तिजस्तो गरेर एसएसपी ठाडामगरले आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै अमेरिकी दूतावासलेख सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टि पोखेको स्रोतको भनाइ छ ।

एसएसपी ठाडामगरले गत वर्षको माघमा पनि सामाजिक सञ्जाल फेसबुकमा आपत्ति जनक प्रतिक्रिया दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गरेका थिए । ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउसँग’ भनेर फेसबुकमा पोस्ट गरेका थिए ।

ठाडा मगर एसपी हुदा ८ नम्बर बरियतामा थिए । तर खुरापाती दिमाख लगाउने उनी नेकपाका नेताहरु बर्षमान पुन,ओनसरी घर्ति र नेतृ रामकुमारी झाँक्रीसँग साँठगाठको आफू भन्दा सिनियरलाई पछि पार्दै ३ नम्बर वरियतामा आउन सफल रहेका थिए ।

बरियतामा पहिलो नम्बरमा रहेका खत्री भने अहिले ६ नम्बर बाहिनीपति भएकाले वर्तमान राजनीतिक परिस्थितका कारण प्रदेश छाड्न पाएका छैनन् । उनी अहिले सुर्खेतमै छन्। यसअघिको डिआईजी बढुवामा पनि उनी प्रमुख दाबेदार थिए । एसएसपी भए पनि निमित्त बाहिनीपतिको जिम्मेवारी पाउने उनी एक जना मात्रै हुन्।

स्रोतका अनुसार सात डिआईजी पद रिक्त भए पनि अहिले ६ ओटा पदमा मात्रै बढुवा गरिने सम्भावना बढी छ । दुई डिआईजी पद रिक्त भए पनि एउटामा मात्रै बढुवा गरिएको थियो । ६ जना बढुवा गर्दा १७ चैत २०७३ मा एसएसपी भएका पाँच जना र २३ असार २०७४ मा एसएसपी भएका एक जना पर्नेछन् ।

सात जना बढुवा गर्दा २० पुस २०७५ मा एसएसपी भएकाबाट गर्नुपर्ने हुन्छ । यसो गर्दा एक जना सिधै पछि पर्नेछन् । २० पुस २०७५ मा एसएसपी भएकामा कालीदास धौबजी र कुमार न्यौपाने पर्छन् । धौबजी र न्यौपाने नेपाल प्रहरीमा प्राविधिकका रूपमा सईबाट सुरु गरेका व्यक्ति हुन् ।

यस्तो छ बढुवा व्यवस्था

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डिआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सदस्य सचिव रहने उल्लेख छ ।

बढुवा समितिले बढुवा सिफारिस गर्दा कार्यक्षमताको मूल्यांकनका आधारमा गर्छ । जसमा कार्यसम्पादन मूल्यांकन बापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरे बापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिम बापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले ५ अंक दिन पाउने व्यवस्था छ । बढुवा समितिले तयार पारेको सिफारिस गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि मन्त्रिपरिषद्ले पास गर्ने व्यवस्था छ ।

विवादित ठाडा मगरलाई भष्ट्राचारको आरोप

सशस्त्र प्रहरी बलको झापास्थित तत्कालीन पाथीभरा गणले आफूले भोगाधिकार लिएको पाडाजुङीस्थित जग्गा सुकुमबासीलाई भोगचलन गर्न दिएर झन्डै १५ वर्षसम्म रकम असुल्दै आएको खुलेको छ ।

सुकुमबासीलाई उनीहरू बस्दै आएको जग्गामा स्थायी रूपमा बस्ने वातावरण मिलाउने आश्वासन दिँदै बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँका दरले ५२ घर परिवारबाट रकम असुलेको खुलासा भएको हो । असुल गरिएको रकमको कुनै हिसाब राखिएको छैन । असुल गरिएको रकम तत्कालीन गणपतिहरूले लिने गरेको पाइएको छ ।

सुकुम्बासीको बसोबास रहेको जग्गालाई गोपी पोखरेलले आफ्नो भएको दाबी गर्न थालेपछि सुकुमबासी परिवारले यो रहस्य खोलेका हुन् ।

२०६० सालमा तत्कालीन माओवादी विद्रोहीको गतिविधि उत्कर्षमा रहेको बेला सशस्त्र प्रहरी बलले तत्कालीन पाथीभरा गणका लागि रतुवामाई वृक्षरोपण आयोजनाको ८० बिघा जमिन भोगाधिकारका रूपमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीले सो जग्गामा बाहिरी घेरा राखेर सुकुमबासीहरूलाई भोगचलन गर्न दिएको थियो । ती सुकुमबासीले बसोबासका साथै खेतीपाती पनि गरेका थिए । खेतीपाती गरेको भन्दै सशस्त्र प्रहरी बलले बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँको दरले १५ वर्षसम्म रकम असुल गरेको हो । यो कार्य २०७५ सालपछि भने बन्द गरिएको थियो ।

सो जग्गामा बस्दै आएकी नन्दमाया तामाङ र अम्बर प्रधान आफूहरूले वार्षिक रूपमा गणलाई रकम बुझाउने गरेको बताउँछन् । ‘खेतीपाती गर्न दिएको रकम चाहियो भन्दै हरेक वर्ष गणबाट मान्छे आउँथे । हामीले बिघाको १० देखि १५ हजार रुपैयाँका दरले बुझाउने गरेका थियौं,’ अम्बर प्रधान भन्छन् । रकम उठाउन लामो समयसम्म गणबाट राजकुमार राई भन्ने व्यक्ति आउने गरेको उनीहरूको भनाइ छ ।

२०६० सालदेखि ७५ सालसम्म सूर्यकुमार श्रेष्ठ, नरेश कार्की, बालकुमार श्रेष्ठ, गणेश ठाडा मगर, राजेन्द्र शाक्य, रामकृष्ण लामा, अजय सिंह, भरतबाबु कार्की, प्रेमराज पोखरेल र विदुर खड्का सो गणको गणपति रहेका थिए । तीमध्ये अधिकांशले अवकाश पाइसकेका छन । सो गणको गणपति रहेका पोखरेल यही पुस मसान्तमा अवकाश पाउँदै छन ।

उता गणले भोगचलन गर्दै आएको जग्गामा तत्कालीन गणपति गणेश ठाडा मगरले काबेली जलविद्युत आयोजनाको हाई टेन्सन लाइनको टावर राख्न दिएका थिए । फायरिङ रेन्जको माथिबाट हाई टेन्सन लाइन राख्न दिइएको थियो ।

सो गणबाट हाई टेन्सन लाइनको टावर राख्दा जलविद्युत आयोजनालाई आर्थिक रूपमा पनि २ करोड रुपैयाँभन्दा बढी सस्तो पर्न गएको थियो । आर्थिक फाइदा लिएर हाई टेन्सन लाइन राख्न दिएको तत्कालीन गणपति ठाडा मगरमाथि आरोप लाग्दै आएको छ । सो गणमा हुदा आर्थिक अनियमितता गरेको आरोप समेत ठाडामगर माथी छ ।

मिटरव्याजी धन्दा समेत गर्दै आएका ठाडा मगरले झापाको थुप्रै ठाउँमा जग्गा जोडेको स्रोत्रले बताएको छ । तर जग्गा भने अर्कोको नाममा राख्दै आएको जानकारहरु बताउँछन् ।

ठाडा मगर बढुवाका लागि नेकपा नेत्री झाँक्रीको भरमा रहेका छन्। उनले झाँक्रीलाई बहिनी बनाएर तिहारमा भाईटिका समेत लगाउँदै आएका छन्। टिठलाग्दो बोल्ने र प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्या भण्डारीविरुद्ध आगो ओकल्ने झाँक्रीमार्फत नेकपा पुष्पकमल दाहाल प्रचण्डको सोर्समा बढुवाको दाउमा ठाडा मगर लागेका छन्। अहिलेका आईजी शैलेन्द्र खनाल प्रचण्डको सिफारिसमा भएका कारण खुमलटारसँग नजिक रहेको ठाडा मगरको बुझाई छ।