
हेटौंडा, १४ पुस । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् ।
विदेशीको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि काङ्ग्रेस र तत्कालीन एमालेले पनि त्यो भारी बोक्न तयार भएको दाबी गरे ।
मकवानपुरको आफ्नो चुनावी क्षेत्र बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने समेत बताए ।
राप्रपा सबै धर्मलाई बराबरीको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दू राष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रति आफ्नो आपत्ति नभएको तर योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै हिड्ने प्रवृत्तिको भने विरोध गरेको स्पष्ट पारे ।
धर्म नास हुँदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार, व्यभिचार बढेर गएको धर्मप्रतिको अनास्था भएको बताए । कसैसँग डर नभएर यस्तो भएको थापाको टिप्पणी थियो । विदेशीहरु आएर नेताको घर–घरमा गरेको दौडले स्वाभिमान र सार्वभौमिकता कमजोर भएको थापाको भनाइ छ । विदेशी प्रभाव र हस्तक्षेपको थापाले चर्को बिरोध गरेका छन् ।
चुनाव जित्ने संगठन अहिलेको आवश्यकता भएको थापाको भनाइ थियो । कार्यक्रममा राप्रपा कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले काङ्ग्रेस कम्युनिस्ट असफल सावित भएकाले अब जनताले राप्रपालाई रोज्नुपर्ने बिचार व्यक्त गरे ।
जिल्ला अध्यक्ष रामहरि न्यौपाने, क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, गोबर्धन गौतम, राजन घिमिरेलगायतले आ–आफ्नो धारणा व्यक्त गरेको कार्यक्रममा विभिन्न व्यक्तिलाई थापाले पार्टी प्रवेश गराएका थिए ।















प्रतिक्रिया