बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

एनआरएनएको नेतृत्वसँग घले असन्तुष्ट

दैनिक नेपाल २०७७ पुष १३ गते ९:१३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीमा नेपालीहरूलाई संक्रमणबाट जोगाउन एवम् देश तथा प्रवासमा रहेका नेपालीको सुरक्षातर्फ ध्यान केन्द्रित गर्न एनआरएनए नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले एनआरएनए नेतृत्वको ध्यान मानवीय कामभन्दा अन्य काममा अल्झिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘हामीले यति लामो समयदेखि प्रयोग र सुधार गर्दै आएको सदस्यता प्रणालीमा अकस्मात निर्णय गरिहाल्नु पर्ने बेला अहिले नरहेको र आफूहरूले कुनै राजनीतिक चरित्र बोकेको भन्दा पवित्र समाजसेवी भावना बोकेको संस्थाको परिकल्पना गरेको छ’, उनले भनेका छन् ।

‘त्यस्तो संस्थामा किन जित्ने र हार्ने अवस्था ल्याउने ? कसैलाई समाज सककवा गर्न वन्चित गराउने ? किन रोटरियन मोडेलमा झैँ समावेसी नेतृत्व रोटेट नगर्ने जहाँ युवा, महिला सबै क्षेत्रका व्यक्ति कामको आधारमा नेतृत्वमा पुग्न सकुन्’, उनले भने, ‘चुनावले विभाजन ल्याउंछ भने फेरि किन त्यस्तो चुनावमा जाने ?’

‘अहिले यो सब बहस गौण हो । हामी हतारमा संस्थाको दीर्घकालीन महत्वका विषयमा निर्णय गर्न किन आत्तिएका हौँ ? के यो त्यस्तो बेला र परिस्थिति हो ? हाम्रो जीवनमा पहिलो पटक यस्तो महामारी फैलिएको बेला प्रवासमा रहेका नेपालीहरूलाई सहयोग गर्नु पर्ने हैन ?’, उनले प्रश्न गरेका छन् ।

एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले युरोप, अमेरिका, अष्ट्रेलियामा हजारौं नेपालीहरू कोरोना संक्रमित भैरहेको अवस्थामा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गर्ने संघलाई सुझाव दिएका छन् ।

‘नेपाल तथा प्रवासी नेपाली समुदाय पनि अझै यो महामारीबाट मुक्त छैनन् । अहिले हाम्रो तात्कालिक चुनौति भनेको नेपाली जनताका लागि आवश्यक खोपहरू प्राप्त गर्ने र पूरै जनसमुदायलाई सुरक्षित गर्न सफलतापूर्वक खोप दिने हो । हामीले सयौं वर्षमा हुने यस प्रकारको घटनासंग जुध्न सहकार्य गर्न नेपाल सरकारलाई सम्पर्क गर्नु पर्दछ’, उनले भने ।
उनले एनआरएनए प्रवासमा रहेका नेपालीहरूलाई दुःख पर्दा सम्झने संस्थाका रुपमा विकास गर्नु पर्ने पनि बताए ।

‘फ्रि डेलिगेट्स, स्मार्ट एनआरएनएको नाममा दैनिक जुम बैठक गर्ने र लामो लामो भाषण दिने काम गरिरहेको सुन्छु’, उनले भने, ‘के को लागि यत्रो हतार हो यो विश्व महामारीको परिवेशमा ?’

‘गैरआवासीय नेपाली संघको भविष्य हामीले भिजन २०२० मा लामो समय लगाएर समावेश गरेका छौं, तर अहिले संस्थालाई दूरगामी असर गर्ने काममा हतारिएर सिस्टम परिवर्तन गर्ने काम नगरौं’, उनले भने, ‘हामीले विकास गरेको सिस्टम खराब हैन, सिस्टमलाई कार्यान्वयन गर्ने नेतृत्व क्षमता र इमान्दारिताको चाहिं परीक्षा गरेको हो ।’

डेटा सिस्टम र सदस्यता शुल्कबारे निर्णय गर्ने अधिकार एनसीसीलाई दिन र युनाईटेड नेसन्स अफ एनआरएनए को सुन्दर मोडेलमा जान पनि उनले सुझाव दिए ।

एनआरएनएको नयाँ नेतृत्वले निःशुल्क सदस्यता, स्मार्ट एनआरएनए लगायतका दीर्घकालीन महत्वका विषयहरू प्रस्ताव गरिरहेका बेला घलेले आफ्ना भनाइहरू राखेका हुन् ।

एनआरएनएका पदाधिकारीहरूले व्यापारिक स्वार्थका लागि संस्थालाई उपयोग गर्ने गरेको भन्ने आरोप लाग्ने गरेको छ नि भन्ने एक प्रश्नको जवाफमा घलेले भने, ‘यदि त्यसो भएको हो भने त्यो गलत हो । एनआरएनए एक सामाजिक संस्था हो, यसलाई व्यापारिक स्वार्थहरूभन्दामाथि राख्नु पर्छ ।’

प्रतिक्रिया
सम्बन्धित