शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

५६ हजार वर्ष पहिलाको ब्वाँसोको छाउरा फेला

दैनिक नेपाल २०७७ पुष ११ गते ८:४९

टोरन्टो । उत्तरी क्यानडामा भेटिएको ब्वाँसोको छाउराको ममी अर्थात्‌ परिरक्षित शरीर कम्तीमा ५६ हजार वर्ष पहिलाको भएको वैज्ञानिकहरूले बताएका छन् ।

यूकन क्षेत्रमा पर्ने डावसन नगरनजिकै दशौँ हजार वर्षदेखि जमिरहेको स्थानमा सुन उत्खनन गर्ने एक व्यक्तिले सन् २०१६ मा ब्वाँसोको पोथी बच्चाको उक्त ममी फेला पारेको बीबीसीले जनाएको छ ।

त्यसपछि स्थानीय ट्रोन्डेक ह्वेचइन समुदायका मानिसहरूले त्यसको नाम ज्हुर राखे। स्थानीय भाषामा ज्हुरको अर्थ ब्वाँसो हुन्छ ।

वैज्ञानिकहरूका अनुसार यो जानकारीमा भएकामध्ये ब्वाँसोको पूर्ण रूपमा परिरक्षित शरीरू हो । त्यसको छाला, रौँ र दाँत जस्ताको तस्तै छन् ।

‘मुख्यतः तिनी शतप्रतिशत जस्ताको तस्तै छिन्, नभएको भनेको तिनका आँखा हुन्’, प्रमुख लेखिका तथा आयोवाको डेमोइन विश्वविद्यालयस्थित एनाटमी विषयकी प्राध्यापक जुली मिचेनले युरेकएलर्ट साइन्स न्यूज वेबसाइटलाई बताएकी छन् ।

विभिन्न विधिको प्रयोग गरी अध्ययन टोली ब्वाँसोको बच्चोको जीवन, त्यसको उमेर तथा मृत्यु निम्त्याएको सम्भावित खाना लगायतका पक्षबारे निर्क्योल गर्न सफल भएको छ ।

करेन्ट बायोलोजी नामक जर्नलमा सोमवार प्रकाशित अध्ययनका नतिजा अनुसार ब्वाँसोको बच्चो र त्यसको आमाले माछासहितका ूसमुद्री वस्तुू खाएका थिए ।

ब्वाँसोको डीएनबाट प्राप्त डेटाको तुलना गरेर तथा त्यसको दाँतमा रहेको इनामेलको विश्लेषण गरेर अध्ययन टोलीले ब्वाँसोको त्यो बच्चो ५६,००० देखि ५७,००० हजार वर्षअघिको बीचमा बाँचेको र मरेको जनाएको छ ।

यूकन वा त्यसको छिमेकी अलास्का क्षेत्रमा तुलनात्मक रूपमा प्राचीन ब्वाँसाका जीवाशेष भेटिने गरे पनि ठूला स्तनधारी जनावरहरूको ममी पाउनु विरलै घटना भएको अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया
सम्बन्धित