३ कार्तिक २०८३, मंगलबार

कोरोनाका कारण निफ सर्‍यो, वैशाखमा मात्रै हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, ९ पुस । हरेक वर्ष फागुनमा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण तत्कालका लागि स्थगित गरिएको छ ।

फागुन महिनाको १२ देखि १६ (फेब्रुअरी २४ देखि २८, २०२१) सम्म काठमाडौँमा गर्ने भनी घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने भएकोले आगामी वैशाख २३ देखि २७, २०७८ (मे ६ देखि १०) मा हुने आयोजकले जनाएको हो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ मिति तोकिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले विज्ञप्तिमार्फत जनाएका छन् ।

आयोजकले पूर्वनिर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो ।

२०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४०० चलचित्रले सहभागिताको लागि आवेदन दिएका छन् । यसरी प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची फ्रेब्रुअरी २० सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष पाठकले जनाएका छन् ।

‘महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुनसक्ने अवस्था छैन । भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन’, पाठकले भनेका छन्, ‘केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही समयलाई स्थगित गर्ने निर्णय गरेका हौँ ।’

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ ।

‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ भने इन्टरनेशनल फेडेरेशन अफ फिल्म सोसाइटीजको जुरीको तर्फबाट आईएफएफएस डान क्वीजोत अवार्ड पनि प्रदान गरिनेछ ।

यसैगरी अन्तर्राष्ट्रिय विधा तर्फै सर्वोत्कृष्ट वृत्तचित्र लाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको वाग्मती अर्वाड प्रदान गरिनेछ ।

साथै, नेपाली प्रतिष्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई रु ५० हजार नगद र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ । योबाहेक फिचर फिल्म विधा तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।