१ कार्तिक २०८३, आइतबार

खोप भण्डारण स्थलकै अभाव

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । कोभाक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुक्त ठाउँसमेत अपुग हुने देखिएको छ । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त भण्डार रहे पनि नियमित खोप राखिएकाले कोभिड खोप राख्न ठाउँको अभाव हुने भएको हो ।

काठमाडौंमा रहेको चिस्यानयुक्त केन्द्रीय भण्डारणमा समेत नियमित खोप राख्ने ठाउँ मात्रै छ । अहिलेको संरचनाअनुसार चिस्यानसहितको भण्डारणस्थलको समस्या सबैभन्दा बढी वाग्मती र प्रदेश २ मा पर्ने देखिएको छ ।

चिस्यान भण्डार बढाउन स्वास्थ्य सेवा विभागले गत वर्ष कात्तिकमा टेकुस्थित विभाग परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन टेन्डर गरे पनि अझै निर्माण सुरु भएको छैन । ‘प्रदेश २ र वाग्मतीमा खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) ले उपलब्ध गराउने ३ प्रतिशत खोप राख्ने ठाउँ पनि छैन,’ विभाग स्रोतले भन्यो । वाग्मती प्रदेशका मकवानपुर, सिन्धुली र चितवनमा आवश्यक खोप हेटौंडाबाट वितरण गरिन्छ ।

वाग्मतीका अन्य जिल्लाका लागि भने काठमाडौंमा ५ हजार २ सय लिटरको भण्डारण क्षमता छ । ‘यो ठाउँ त नियमित भ्याक्सिनलाई मात्रै पुग्छ,’ विभागका आपूर्ति व्यवस्थापन शाखाका एक कर्मचारीले भने । सुविधामा आउने ३ प्रतिशत भ्याक्सिनलाई साढे १० हजार लिटर अट्ने ठाउँ आवश्यक पर्ने स्वास्थ्य विभागले आकलन गरेको छ ।

प्रदेश २ मा एउटा पनि चिस्यानयुक्त भण्डार छैन । वाग्मती प्रदेशको हेटौंडामा रहेको दुई हजार दुई सय लिटर भण्डारण क्षमतामा प्रदेश २ निर्भर हुनुपर्ने बाध्यता छ । कोभिड खोप राख्ने क्षमता अभाव पूरा गर्न खोपसँगै २० हजार लिटर भण्डारण गर्ने ठाउँसमेत बनाइदिन सरकारले गाभीलाई आग्रह गरेको छ ।

विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले प्रदेश २ र कर्णालीमा खोप राख्ने चिस्यानयुक्त भण्डार बनाउने योजना बनाइसकेको बताए । कर्णाली र लुम्बिनी प्रदेशको नेपालगन्जमा ९ हजार ७ सय लिटर क्षमताको भण्डारणमा भर पर्नुपर्ने बाध्यता छ । मकर श्रेष्ठले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।