बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

कोरोना महामारीको दोस्रो लहर रोकथामका लागि के गर्ने ?

सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिए

डा. रवीन्द्र पाण्डे २०७७ मंसिर २९ गते १४:३८

डा. रवीन्द्र पाण्डे/जनस्वास्थ्य विज्ञ

अमेरिका तथा युरोपका विभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ ।

हिजो मात्र कोरियामा लगभग एक हजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् ।

नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ । यो महामारीलाई नियन्त्रण गर्नका लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजका लागि योगदान गर्नु अपरिहार्य बनेको छ ।

के गर्ने त दोस्रो लहर रोकथामका लागि ?

१०० दिन मास्क अभियान

सरकारी तथा गैरसरकारी निकायले १०० दिन मास्क अभियान सञ्चालन गरौं । यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए/नभएको व्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको व्यवस्था गर्ने ।

सामाजिक संघसंस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने । सञ्चार माध्यमले मास्क अभियान सञ्चालन गर्ने । घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिवार्य रुपमा मास्क लगाउने ।

पठनपाठन बारे

सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ । परीक्षण न्यून भएकाले तथा परीक्षण गर्नेले औपचारिक कामका लागि मात्रै परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको वास्तविक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा विद्यालय तथा कलेज यथास्थितिमा सञ्चालन गर्ने अर्थात् अनलाइन/अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ ।

घटीमा पुस र माघ स्कुल/कलेज नखोल्नु जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित हुने छ । विद्यालय खुलेपछि विभिन्न ठाउँका हजारौं विद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई सर्ने जोखिम हुन्छ । यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ ।

तसर्थ २ महिना स्कुल बस तथा शौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको व्यवस्था गर्ने, दूरी कायम गर्नका लागि कक्षाकोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क, स्यानिटाइजर, पानी, साबुन र आइसोलेसन कक्ष आदिको व्यवस्था राम्रो र प्रभावकारी बनाउनेलगायत तयारी गर्नुपर्ने हुन्छ ।

मालपोत, यातायात कार्यालय, वडा, विद्युत् महाशुल तिर्ने काउन्टरलगायत ठाउँमा भीडभाड हुन नदिने । यसका लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वतः नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने व्यवस्था गर्ने ।

लामो दूरीमा चल्ने बस जोर-बिजोर दुवै सञ्चालन गर्ने । सार्वजनिक बसमा मापदण्ड अनुगमनको व्यवस्था गर्ने ।

भोजभतेर तथा जमघट आदि हुन नदिने । त्यसको अनुगमन तथा निगरानी गर्ने ।

ज्येष्ठ नागरिक तथा दीर्घ बिरामी (दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका) लाई यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसँग घुलमिल नहुने ।

वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजी क्षेत्रले अध्यावधिक प्रयोगमा ल्याउने ।

घर/छिमेक/अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसनमा बस्नका लागि प्रेरित गर्ने । रुघाखोकी लागे पनि सेल्फ आइसोलेसनमा बस्ने ।

घटीमा पुस र माघ स्कुल/कलेज नखोल्नु जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित हुने छ । विद्यालय खुलेपछि विभिन्न ठाउँका हजारौं विद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई सर्ने जोखिम हुन्छ । यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ ।

कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने ।

संक्रमितलाई अक्सिमिटर/थर्मोमिटर/मास्क/ स्यानिटाइजर/गाइडलाइन आदिको स्थानीय तहले प्रबन्ध गर्ने ।

होम आइसोलेसनको अनुगमन तथा निगरानी गर्ने ।

भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर–बिजोर गरेर खोल्ने ।

फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डप जस्तै खुला ठाउँमा व्यवस्थित रुपमा राख्ने ।

अत्यावश्यकबाहेक यात्रा नगर्ने ।

सरकारी तथा गैरसरकारी कार्यालय खोल्ने/बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने ।

बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने । झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने ।

जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत विज्ञापन/टेलिचलचित्र बनाएर प्रकाशन/प्रशारण गर्ने ।

सबैजनाले ‘म संक्रमित हुन्न, मेरो परिवार संक्रमित हुँदैन’‘ भन्ने प्रण गरेर मास्क, दूरी र सफाइमा विशेष ध्यान दिने ।

सीमा नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने ।

यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने/गराउनेमा सबै जागरुक बनौं । कोरोना महामारीको दोस्रो लहर रोकथामका लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं ।

डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।

प्रतिक्रिया
सम्बन्धित