आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

कपिलवस्तुमा कर छल्ने तस्करहरूलाई तनाब, एसपी अधिकारीले उठाइदिए ५ गुणा बढी राजश्व

दैनिक नेपाल २०७७ मंसिर २८ गते ८:४६

तौलिहवा, २८ मंसिर । कोरोना महामारीका बेला पनि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्ष उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा कपिलवस्तुबाट ५५ लाख राजश्व उठाइएको थियो । यो आर्थिक वर्षको ५ महिना र अघिल्लो आर्थिक वर्षको असारसमेत गरी अघिल्लो वर्षभन्दा ५ दशमलव ६५ गुणा बढी अर्थात ३ करोड ११ लाख राजश्व उठेको छ ।

यो आर्थिक वर्षका ५ महिनामा मात्रै २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपियाँ राजश्व उठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले अघिल्लो वर्षको तुलनामा धेरै नै राजश्व उठाउन आफूहरू सफल भएको बताए ।

‘अघिल्लो आर्थिक वर्ष कपिलवस्तुबाट प्रहरीले ५५ लाख राजश्व दाखिला गरेको थियो’, एसपी अधिकारीले भने, ‘यो आर्थिक वर्षको ५ महिनामा हामीले २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपियाँ राजश्व उठाउन सफल भएका छौं ।’

एसपी अधिकारी कपिलवस्तुमा प्रहरी प्रमुख भएर गत असार ५ गने पुगेका थिए । उनी पुगेपछि अहिलेसम्म ३ करोड ११ लाख राजश्व उठेको हो ।

कपिलवस्तु सिमावर्ती जिल्ला हो । सीमा नाकाबाट सामान भित्र्याउने र बाहिर पठाउने गर्दा प्राय धेरै राजश्व उठ्ने गर्छ । कार्यालयको रेकर्डअनुसार अहिलेसम्म सवारी साधन, लत्ता कपडा, किराना सामान, रागा भैसी, खसी बोका, केराउ, सुन, चाँदी र अन्य सामानको भन्सारवापत त्यती राजश्व उठेको हो ।

प्रहरीले ५ महिनामा विभिन्न आरोपमा फरार रहेका ८८ जनालाई पक्राउ गरी १४ लाख ५१ हजार १४४ जरिवाना गराएको छ भने २८ वर्ष २ महिना २९ दिन कैदका लागि सम्बन्धित निकायमा पठाएको छ ।

प्रहरी कार्यालयमा अहिलेसम्म विभिन्न विभिन्न प्रकृत्तिका आत्महत्याका ५४ घटना दर्ता भएको र तीनको छानबिन भइरहेको तथ्यांकमा उल्लेख छ ।

अघिल्ला वर्षहरू भन्दा अहिले कसरी बढी राजश्व उठ्यो भन्दा एसपी अधिकारी भन्छन्, ‘हामीले सीमामा जाँच बढाएका छौं । कानूनको पालनामा कडाइ गरेका छौ ।’

स्थानीय र जिल्लाबासी प्रहरी प्रमुख भएर अधिकारी आएपछि जिल्लामा हत्या हिंसाका घटनामा कमी आएको बताउँछन् । उनी जिल्लामा पुगेपछि चोरी, डकैती र कानुन उल्लंघन गरेर ज्याजती गर्ने घटना कम भएका छन् ।

अधिकारी एसपीमा बढुवा भएपछि केही समय प्रहरी मुख्यालयमा बसेर पहिलो पटक जिल्लाको प्रमुख भएर कपिलवस्तु गएका हुन् ।

उनले आफूलाई अव्वल देखाउनका लागि पनि राम्रो काम गरिरहेका उच्च पदस्थ प्रहरी अधिकारीहरू बताउँछन् ।

उनी जिल्लाको प्रमुख भएको पहिलो पटक भने होइन । उनी प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँदा दार्चुलामा जिल्ला प्रहरी प्रमुख भएका थिए ।

त्यहाँ रहँदा पनि अधिकारीले राम्रो काम गरेका थिए । त्यसबाहेक डीएसपी हुँदा अधिकारी जिल्ला प्रहरी कार्यालय बाराको सेकेण्डम्यान भएर केही समय बसे । कालीमाटी बृत्तको प्रमुख भएर बसे भने प्रहरी एकेडेमीमा पनि बसे ।

त्यस्तै प्रहरी निरीक्षक हुँदा उनी पुल्चोक, अछाम, डडेलधुरा, कञ्चनपुरमा काम गरे । ४ वर्ष डडेलधुरामा निरीक्षकका रुपमा विताएका अधिकारीले राम्रो काम गरेको भन्दै जिल्लामा प्रशंसा बटुलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित