१ कार्तिक २०८३, आइतबार

सुविधाको खोपमा भर परे ढिलाइ, जीटूजी र निजी क्षेत्रलाई विकल्प खुल्ला गर्न सुझाव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । कोभिड–१९ विरुद्घको खोप तयार भएपछि छिटो ल्याउन सरकार–सरकार (जीटूजी) र निजी क्षेत्र दुवै सहभागी हुनुपर्ने देखिएको छ । सुविधाबाट पाउने खोपको मात्र भर पर्दा धेरै ढिला हुने भएकाले दुवै विकल्पमा तुरुन्त अघि बढ्नुपर्ने विज्ञहरूले बताएका छन् ।

एउटै प्रक्रियामा भर पर्दा समयमै खोप ल्याउन नसकिए मुलुकको स्वास्थ्य, रोजगार, अर्थतन्त्र, व्यापार, व्यवसायलगायत झन् प्रभावित हुन सक्ने उनीहरूको भनाइ छ । जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले खोप ल्याउन सबै विकल्प खुला गर्नुपर्ने बताए । पछिल्लो समय कोरोनाबाट मृत्युदर बढेकाले पनि खोप प्रमाणित भएपछि जतिसक्दो छिटो ल्याउनुपर्ने अवस्था छ ।

‘आम नेपालीलाई खोपमा सहज पहुँच सुनिश्चित गर्न सबै विकल्प खुला राखेर अघि बढ्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. तिवारीले भने, ‘कोभाक्स तत्काल समाधान हैन । एउटा विकल्प सफल नहुँदा अर्को विकल्पले काम गर्न सक्छ ।’ उनले दक्षिण एसियाका मुलुकले निजी क्षेत्रलाई खोप ल्याउन अनुमति दिइसकेको बताए ।

‘बंगलादेशले निजी क्षेत्रलाई अनुमति दिएको छ,’ डा. तिवारीले भने, ‘सरकारले अन्य सरकारसँग पहल गरेर खोप भित्र्याउने प्रयाससँगै विशेष गाइडलाइन बनाएर गुणस्तरीय खोप ल्याउने सुनिश्चिततासहित पारदर्शी रूपमा अधिकतम बिक्री मूल्य तोकेर निजी क्षेत्रका लागि प्रक्रिया खुला गर्नुपर्छ ।’

सरकारसँग कोरोना नियन्त्रणका लागि काम गरिरहेका अर्का विज्ञ डा. जीडी ठाकुरले पनि प्रमाणित खोप जतिसक्दो छिटो ल्याउने परिस्थिति सिर्जना भइसकेको बताए । ‘सरकारले नियन्त्रण, अनुगमन र गुणस्तर सुनिश्चित गर्दै निजी क्षेत्रलाई मुलुक सुहाउँदो खोप ल्याउन अनुमति दिनुपर्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. ठाकुरले भने । उनका अनुसार निजी क्षेत्रले समयमै खोप ल्याए अन्य आर्थिक बजेटमा कटौती गरेर पनि आम नेपालीले खोप लगाउन तयारी गर्नुपर्छ ।

विज्ञहरूले सरकारले निर्धारण गरेको गाइडलाइनमा रहेर निजी क्षेत्रले गुणस्तरीय, सुरक्षित र प्रभावकारी खोप ल्याउन चाहे सक्षम कम्पनी छानेर अनुमति दिनुपर्ने सुझाव दिएका छन् । नेपालमा कोरोनाको दोस्रो लहर आउने आकलन भइरहेका बेला उनीहरूले यस्तो बताएका हुन् ।

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोभ्याक्स सुविधाबाहेक नेपालले सरकार र निजी क्षेत्रबाट समेत खोप किन्ने दोहोरो रणनीति अँगाले खोप छिटो ल्याउन सकिने र त्यसले महामारी नियन्त्रणमा ठूलो काम गर्ने बताए । अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।