१ कार्तिक २०८३, आइतबार

खोपको ‘कोल्ड चेन’ गृहकार्य खोइ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावकारी बनाउन ‘कोल्ड चेन’ व्यवस्था गर्न र उचित वितरणको व्यवस्था मिलाउन सरकारको तयारी देखिएको छैन । खोप बनेपछि त्यसलाई आमनागरिकसम्म पुर्‍याउन एकै पटक अभियान चलाए मुलुकमा भएको संरचना अपुग हुन सक्ने देखिएको छ ।

कोभिड खोप अभियान सुरु भएपछि नियमित खोप कार्यक्रम र स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी सञ्चालन गर्न विशेष तयारी आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । त्यसका लागि ‘कोल्ड चेन’ प्रणालीलाई बलियो बनाउन सरकारले खासै तयारी गरेको छैन ।

‘हामीलाई तत्काल खोपको वितरण अर्थात् लजिस्टिकमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘यसअन्तर्गत पनि मुख्य रूपले कोल्ड चेनमा ध्यान दिनुपर्छ । जसले कोभिड खोपको गुणस्तर कायम राख्न सघाउ पुग्नेछ ।’

खोपलाई निर्धारित तापक्रममा नराख्दा यो असरहीन हुन्छ । खोपमा रहेको गुण र यसको प्रभावकारिता कायम गर्न खोप उत्पादनदेखि लगाउने बेलासम्म तोकिएको तापक्रममा राख्नुपर्छ । खोपलाई परिवहन, भण्डारण, वितरण र लगाउने बेलासम्म एउटा खास तापक्रम कायम राख्ने प्रणालीलाई ‘कोल्ड चेन’ भनिन्छ ।

एकै पटक ठूलो मात्रामा खोप आयो भने भण्डारण गर्न समस्या रहेको औंल्याउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘एक महिनाभित्रै दुई मात्रा दिनुपर्ने कोभिडको खोप करोड मात्रा चाहियो भने हामी राख्नै सक्दैनौं । हामीसँग भण्डारण क्षमता नै छैन ।’

हाल बालबालिकाको खोपका लागि वार्षिक करिब ५० देखि ६० लाख डोज खोप भण्डारण गर्नुपर्ने स्थिति रहेको जनाउँदै उनले भने, ‘बच्चाको खोप र कोभिडको खोप सँगै आयो भने भण्डारण गर्नै सकिँदैन । तुरुन्त छुट्टै भण्डारणका लागि कोल्ड चेन निर्माण आवश्यक छ ।’ अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।