शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आइडिया कल

नविनतम व्यवसायलाई निशुल्क तालिम तथा सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म लगानी गरिने

दैनिक नेपाल २०७७ मंसिर २४ गते १९:०९

काठमाडौँ, २४ मंसिर । नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रवर्तन प्रस्ताव आह्वान (स्टार्टअप आइडिया कल) कार्यक्रम सुरु भएको छ ।

सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमतिअनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नव प्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् ।

काठमाडौँमा वुधवार आयोजित समुद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समुद्घाटन गरे ।

समुद्घाटन मन्तव्य राख्दै पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले व्यवसाय सफल नहुने मुख्य कारण सम्पूर्ण पक्षहरुबीच तालमेल नहुनु हो भन्दै उत्पादन, श्रम, पूँजी, बजार र नीतिबीच तालमेल भए मात्र व्यवसाय सफल हुने बताए । नेपालमै बसेर स्वरोजगार बन्छु भन्नेका लागि यो कार्यक्रम निकै उपयोगी हुने उनको भनाई थियो ।

आयोजकका अनुसार २०७७ माघ महिना भरी उद्यमी बन्न चाहने युवाका लागि नविनतम प्रवर्द्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) को  www.startupideacall.org वेबसाइट मार्फत नवप्रवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत बढीमा ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गरिने छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बागमती प्रदेशभित्र व्यवसाय गर्ने दुई सय युवाहरुलाई लगानी गरिने बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गरे ।

नव प्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले त्रिपक्षीय सहकार्यमा निकट भविष्यमा यो कार्यक्रम अन्य प्रदेशमा पनि लैजाने बताए ।

नयाँनयाँ आइडिया भएर पनि कहाँ जाने, कसलाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर दुविधामा भएका युवाहरुलाई माघ महिनासम्ममा आइडिया पठाउने युवाहरुलाई गरी फागुन र चैत्र महिनामा तालिम प्रदान गरी सहुलियतपूर्ण कर्जा प्रवाह हुनेछ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने विश्वास लिइएको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा योजना मन्त्री कैलाप्रसाद ढुङ्गेल, राष्ट्रिय सभाका सांसद डा. बिमला राई पौडेल, बागमती प्रदेश सरकारका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि यो कार्यक्रमको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा युवा उद्यमी तथा सरोकार पक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित