शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘राम राम’ नेकपा !

दिपक गौतम २०७७ मंसिर २३ गते १६:३७

-दिपक गौतम

कुकुर र बिराला जस्ता दुई कम्युनिष्ट पार्टी चुनावी तालमेल हुदै एकीकरण सम्म जाने घोषणा गरेपछि राजनीतिक स्थिरताका लागि नेपाली जनताले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादीलाई प्रचण्ड बहुमत सहित देश चलाउने जिम्मेवारी दिएका थिए ।

दुइ पार्टीको (तत्कालीन एमाले, एमाओवादी) गठबन्धनले प्राप्त गरेको मतले राजनीतिक अस्थिरताले जनता कति आक्रान्त थिए भन्ने प्रष्ट बुझाउँदछ । राजनीतिक स्थिरताको अर्थ राष्ट्रपति र प्रधानमन्त्री मात्रै परिवर्तन नहुनु भन्ने थिएन ।

विवादमा परेका वा फौजदारी अभियोग लागेको अवस्था या पर्फर्मेन्स राम्रो नभएको खण्डमा मात्र मन्त्रीमंडल फेरबदल गर्नुपर्नेमा गुटगत आधारमा मन्त्रीहरु फेरबदल गरि जनताले चाहेको राजनीतिक स्थिरताको चाहना माथि नेकपाले कुठाराघात गरिसकेको छ ।

प्रमुख ठुला दलहरु सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भित्र देखिएको विवादले नागरीकहरु निराश छन् भन्ने कुरा बुझ्न ढिला गरेमा दलहरुलाई पछि पछुताउने मौका समेत मिल्ने छैन ।

पार्टी भित्र गुटगत बिबाद उत्कर्षमा पुग्दै गर्दा नेकपाले केन्द्र तथा प्रदेश सरकारहरु समेत परिवर्तन गर्ने गरि जसरी बहस चलायो यसले नेकपाका नेताहरु राजनीतिक स्थिरताप्रति इमान्दार छैनन् भन्ने कुरालाइ पुष्टि गरेको छ ।

कोरोना महामारीले जनता आक्रान्त भैरहेका बेला सबै भन्दा ठुलो दल, त्यसै माथि सरकारको नेतृत्व गरेको दल भित्र जनताका समस्या र देशमा आइपरेको संकट समाधानका बिषयमा छलफल गर्ने कि, अध्यक्ष हटाउने कि राख्ने ? प्रधानमन्त्री फेर्ने कि निरन्तरता दिने जस्ता बिषयमा ?

जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको दल भित्र गुटगत विवाद हुनु, कुर्ची र पदका लागि शीर्ष नेताहरु एकआपासमा हिलो छ्यापाछ्याप गर्नुले नागरिकलाई निराश मात्रै बनाएको छैन बर्तमान राजनीतिक व्यवस्थाप्रतिनै विश्वास टुट्दै गएको छ भन्ने कुराको नतिजा सडकमा देखिन थालेको छ ।

प्रमुख ठुला दलहरु सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भित्र देखिएको विवादले नागरीकहरु निराश छन् भन्ने कुरा बुझ्न ढिला गरेमा दलहरुलाई पछि पछुताउने मौका समेत मिल्ने छैन ।

कांग्रेस भित्रको विवादले तत्काल नागरिक निराशाु लाइ बढाउन मद्दत गर्ने बाहेक राज्य संचालनमा खास असर पार्दैन तर नेकपाले भने विवाद मिलाउन बिलम्ब गरेमा एकरएक मिनेटको मूल्य चुकाउनु पर्नेछ ।

सचिवालय, स्थायी कमिटि र केन्द्रीय कमिटिमा रहेका सदस्यहरुका टाउका गनेर को बहुमतमा को अल्पमतमा भन्ने निष्कर्श निकाल्नु ओली, प्रचण्ड, माधव नेपाल लगाएत शीर्ष नेताहरुका लागिनै घातक हुनेछ । त्यो अनुभव प्रचण्ड, माधब नेपाल र बामदेब गौतमले समेत यस अघिनै गरिसकेका छन् ।

जनताका समस्या र दैनिक जनजीविकाका कुराहरुलाई बेवास्ता गर्दै नेकपाका शीर्ष नेताहरु जसरी गुटगत विवादमा रुमलिएका छन् यसको जवाफ जनताको कठघरामा उभिएर दिनुपर्नेछ ।

तसर्थ पार्टी भित्रको विवाद तुरुन्तै समाधान गरि सरकार र पार्टीलाई देश र जनताको काममा समर्पित गराउनुनै उपयुक्त हुनेछ, अन्यथा नेकपाका नेताहरुले न टेक्ने डालो भेट्ने छन् न समाउने हाँगो ।

नेताहरुको जुङ्गाको लडाइले पार्टीलाई कति नोक्सान पुग्छ भन्ने कुराको हेक्का राख्दै जतिसक्दो छिटो पार्टीलाई एकताबद्ध बनाइ प्रभावकारी ढंगले सरकार चलाउन नसकेमा अर्को चुनाबमा नेकपाको अस्तित्व समाप्त हुने निश्चित प्राय छ । झगडा गरेर पार्टी सक्काउने कि मिलेर पार्टी जोगाउने भन्ने कुरा नेकपाका नेताहरुले जानुन् ।

राजाबादीहरु सडकमा ओर्लिनुमा नेकपा भित्रको आन्तरिक रस्साकस्सी पनि हिस्सेदार बन्न सक्ने भएकाले नेकपाको आन्तरिक विवाद समाधान गर्न बिलम्ब गर्नु हुदैन ।

अन्यथा नेकपा भित्रको विवादलाई जनताको सेन्टिमेन्टु क्याच गर्ने मसलाको रुपमा प्रयोग गरिने खतरा बढ्नेछ । ढङ्ग नपुर्र्याउदा राजा त किनार लाग्न पर्छ भने दलहरुलाई जनताले सधै पत्त्याइदिन्छन भन्ने केहि छैन ।

त्यसैले गणतन्त्रको रक्षाका लागि सबै दल जिम्मेवार बन्नु पर्छ तर नेकपा अझै बढी । यदि नेकपाका नेताहरुले बिबेक पुर्र्याउन सकेनन भने नेकपालाई भीरको गाइ जस्तै राम राम बाहेक अरु भन्न सकिने छैन, बस् यत्ति ।

प्रतिक्रिया
सम्बन्धित