
लण्डन, २१ मंसिर । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना हो ।
स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो ।
हालसम्म नेपालमा संक्रमितमध्ये २ लाख ३४ हजार ७ सय ५६ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव ३ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ५ सय २९ जनाको ज्यान गएको छ ।
छिट्टै खोप आउने विश्वास
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले कोरोनाभाइरस विरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखा परेको भन्दै खुशी व्यक्त गरेका छन् ।
रुसले निर्माण गरेको स्पुत्निक ५ खोपको सामुहिक परिक्षण सुरु भएको र बेलायत र बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाई छ ।
यद्यपी नेपाली समुदायको ठूलो आवादी रहेको अमेरिका लगायतका मुलुकमा खोप प्रयोगको लागि एफडीएद्वारा अझै मान्यता प्राप्त नभएको र संक्रमण दर समेत उच्च रहेकोले सावधानी अपनाउनुको विकल्प नरहेको उनले बताए ।
विश्वका कोरोना प्रभावित प्रत्येक मुलुकमा खोप उपलब्ध हुने आफ्नै समयरेखा तय भएको हुने हुँदा र खोपको पहुँचका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने हुनसक्ने भन्दै डा. सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे ।
खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, जोखिमयक्त अवस्थाका मानिस, कमजोर स्वास्थ्य अवस्थाका विरामी पर्ने भन्दै अन्य सबैले कोरोना लाग्नबाटै बच्ने उपाय अवलम्वन गर्न सकिने उनले बताए ।
विदेशमा रहेका नेपालीहरु संक्रमणको उच्च जोखिमबाट अझै मुक्त नभएको भन्दै डा. सापकोटाले उच्च स्वास्थ्य सावधानी अपनाएर जनजीवन सामान्य बनाउन आग्रह गरेका छन् ।
क्रिशमस लगायतका चाडपर्वका बेला विशेष सावधानी अपनाऔँ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले विदेशमा क्रिशमस लगायतका पर्वसहित नयाँ वर्ष नजिकिएको भन्दै त्यस्ता समय संक्रमणको उच्च जोखिम हुने भएकोले सावधानी अपनाउन आग्रह गरेका छन् ।
चाडपर्वका बेला जमघट नगर्न, आफ्ना परिवारका सदस्यबीच मात्रै पर्व मनाउन र भीडभाड भएका स्थानमा सकेसम्म नजान र जानै परे मास्कको अनिवार्य प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।















प्रतिक्रिया