शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आन्तरिक पर्यटकको रोजाईमा पर्दै बेथानञ्चोकको ‘तीनतले’ र ‘इन्द्रेणी’ झरना

दैनिक नेपाल २०७७ मंसिर १६ गते १७:३५

-सुनिल तिमल्सिना

काभ्रे, १६ मंसिर । काभ्रेपलाञ्चोक जिल्लाको बेथानञ्चोक गाउँपालिका वडा नम्बर–१ मा अवस्थित तीनतले झरना र इन्द्रेणी झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

च्याम्राङबेसी वडा नम्बर–१ च्यालममा रहेका यी दूई झरनामा दैनिक रुपमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । यी दूई झरना काठमाडौंदेखि ५५ किलोमिटर, बनेपाबाट ३१ किलोमिटर र पनौेतीदेखि २६ किलोमिटरको दुरीमा पर्दछ ।

यसअघि त्यत्ति धेरै चर्चामा नआएका यी दूई झरनाको प्रचार प्रसारमा स्थानिय युवाहरु नै लागेपछि अहिले तीनतले र इन्द्रेणी झरनाको विषयमा चर्चा सुरु भएको हो ।

जसले गर्दा पर्यटकीय पूर्वाधार निर्माणको सुरूवातसँगै यी दूई झरना छोटो समयमा नै अहिले आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेका छन् ।

अहिले तीनतले झरनाको सुधारका लागि वडाले दूई लाख बजेटसमेत बिनियोजन गरेको छ । विदेशी पर्यटकका लागि समेत मुख्य गन्तव्य बन्न सक्ने यी दूई झरनामा विदेशी पर्यटक भित्राउनका लागि पर्यटन व्यवसायी समेत लागेका छन् ।

अहिले गाउँपालिकाका सबै स्थानमा सडक मार्गको सहज पहुँच भएसंगै पनि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । यी झरनामा पैदल यात्रा गरि गरिने दृश्यावलोकनको छुट्टै आनन्द त छँदैछ यदि आफ्नै सवारीसाधन मोटरसाईकल वा गाडीमा जान चाहे पनि सहजै पुग्न सकिन्छ ।

सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । अहिले शनिबार र बिदाको दिनमा समूह–समूहमा पर्यटक यी दूई झरनामा पुग्ने गरेका छन् ।

स्थानिय तहले यी झरना घुम्न आउने पर्यटकका लागि चर्पी, बसेर दृश्यावलोकन गर्ने व्यवस्था गर्नुपर्ने तत्कालको आवश्यकता देखिएको छ । राजधानीबाट नजिकै पर्ने यस स्थान छाटो दूरीको यात्रा र घुमफिरको लागि पनि गन्तव्य बन्न सक्छ ।

प्रतिक्रिया
सम्बन्धित