शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘नेपाल–भारतबीच सहकार्य एवं साझेदारी अपरिहार्य’

दैनिक नेपाल २०७७ मंसिर १२ गते २१:५३

काठमाडौँ, १२ मंसिर । भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलाले घनिष्ठ मित्र र छिमेकीका नाताले नेपाल–भारतबीच सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताएका छन् ।

नेपालको दुईदिवसीय औपचारिक भ्रमणको दोस्रो दिन आज राजधानीमा भएको एक कार्यक्रममा उहाँले ‘सबैको साथ सबैको विकास सबैको विश्वास’ प्राप्त गर्ने भारत सरकारको चाहना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न द्विदेशीय साझेदारी र सहकार्यको विकल्प नरहेको बताए ।

“हामी नेपाल र भारतका भावी पुस्ताप्रति जवाफदेही छौँ, घनिष्ठ मित्र र छिमेकीका रुपमा हामीले सँगै काम गर्न आवश्यक छ, हामीले हाम्रा युवाका आकाङ्क्षालाई पूरा गर्न आवश्यक छ, सशक्त सहकार्यमुखी भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा छ”, सचिव शृङ्गलाले आपसी सम्बन्धलाई अझ प्रगाढ एवं परिणाममुखी तुल्याउनुपर्नेमा जोड दिँदै भने ।

विकास सहायता, सबल सम्पर्क सञ्जाल, विस्तारित भौतिक पूर्वाधार र आर्थिक सहयोगका परियोजनामा केन्द्रित रहेर भारतले नेपालसँगको सम्बन्धलाई अघि बढाएको बताउँदै उहाँले नेपालको विकासका प्राथमिकतानुसार भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाललाई भारतले आफ्नो प्रमुख मित्र र विकासको साझेदारका रुपमा लिएको बताउँदै उनले दुवै देशका विकास एवं सामाजिक–आर्थिक रुपान्तरणका समान चुनौती रहेकाले एकार्काका अनुभवबाट सिक्न सकिन्छ भने ।

भारत सरकारको सहयोगमा स्थानीय समुदायका आवश्यकतानुसार सामुदायिक सम्पत्ति निर्माण तथा तल्लो तहमा सामाजिक–आर्थिक समृद्धि प्रवद्र्धन गर्न समुदाय विकासमा उच्च प्रभाव पार्ने परियोजना नेपालका ७७ वटै जिल्लामा कार्यान्वयन भइरहेको जानकारी दिँदै उनले तिनमा शिक्षा, स्वास्थ्य, सिँचाइ, पेयजल, संस्कृति र सम्पदा संरक्षण, सीप विकास, युवा प्रशिक्षण र कृषिलगायत विकास परियोजना समावेश गरिएको बताए ।

उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सरकारमा आएपछि १७ वर्षपछि उच्चस्तरमा भ्रमण भएको र उनले सरकारको नेतृत्व गरेदेखि नै छिमेक सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप व्यवहार गरेको बताए ।

भारतलाई मध्यम आययुक्त देशका रुपमा विकास गर्ने सरकारको सपना सुनाउँदै उनले त्यो सपना साकार तुल्याउन नेपालको सहयोग अत्यावश्यक भएको औँल्याए ।

विदेश सचिव श्रृङ्गलाले नेपालको अथाह जलसम्पदा स्वच्छ ऊर्जा उत्पादनका निम्ति प्रमुख स्रोत हुने र त्यसले नेपालको आर्थिक उन्नयनमा असीमित रुपान्तरण गर्ने बताए ।

भारतका विभिन्न कम्पनी कोरोनाविरुद्धको खोप उत्पादन र परीक्षणमा लागिरहेको जानकारी दिँदै उनले छिमेकीको नाताले नेपालको आवश्यकतालाई प्राथमिकता दिइने बताए ।

“नेपालमा भूकम्पका बेला होस् वा कोरोना सङ्क्रमणको कठिन अवस्था, भारतले नेपाललाई सक्दो सहयोग गरेको छ र भविष्यमा पनि गर्नेछ,” उनले भने ।

सामाजिक एवं आर्थिक क्षेत्रमा नेपालले गरेको सुधार तथा भौतिक संरचनाहरुको निर्माणको प्रशंसा गर्दै उहाँले नेपालीको मन र मुस्कान परिवर्तन नभएको तथा नेपाल र भारतको सम्बन्ध आत्मीय रहेको तथा त्यसले दुई देशका जनताबीच शक्तिशाली सम्बन्धलाई अझ सुदृढ बनाएको बताए ।

उनले नेपालको दीर्घकालीन विकासका परियोजनामा भारतले सहकार्य गरेको र कैयौँ परियोजना सम्पन्न भएको तथा बाँकी परियोजना द्रुत गतिमा पूरा गर्न भारत प्रतिबद्ध रहेको बताउँदै सचिव शृङ्गलाले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसँगै पेट्रोलियम पदार्थ ढुवानीमा व्यय हुने नेपाल सरकारको रु ८० करोड बचत भएको, नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण जारी रहेको, अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति भएको, जयनगर–कुर्था अन्तरदेशीय रेलसेवा निकट भविष्यमा सञ्चालन भएपछि जनकपुरको तीर्थाटन गर्न भारतीयलाई सहज भई नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

आजै सचिव शृङ्गलाले भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीन विद्यालय भवनको उद्घाटन गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरे ।

बिहीबार दिनभर नेपालका उच्च सरकारी अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता र परामर्शमा व्यस्त उनीसँग नेपाल–भारत सम्बन्धका सबै पक्षमा गहन छलफल भएका थिए ।

व्यापार, पारवहन, सम्पर्क सञ्जाल विस्तार, सीमा समस्या समाधान, भौतिक पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनस्तरको सम्बन्ध, कोरोनाको महामारीविरुद्धको लडाइँ र अनुभव आदानप्रदानलगायत पारस्परिक हित र चासोका सबै विषयमा सौहाद्र्रपूर्ण वातावरणमा छलफल भएका थिए ।

नेपालको भ्रमण सफलतापूर्वक सम्पन्न गरी आजै साँझ उनी विशेष विमानबाट नयाँदिल्लीतर्फ प्रस्थान गरे । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले बिदाइ गरे । –रासस

प्रतिक्रिया
सम्बन्धित