बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकाका नेपालीहरूले मनाए धन्यावाद दिवस

दैनिक नेपाल २०७७ मंसिर १२ गते ७:३७

विजय थापा

डिसी महानगर । कोरोना भाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष पनि नेपालीहरूले ‘धन्यावाद दिवस’ अर्थात् थ्याङ्कसगिभिङ् डे मनाएका छन् । बिगत वर्ष झैँ हर्साेल्लास र मनोरंजन रुपमा मनाउन भने सकेनन । सीमित परिवार सदस्यहरूको जमघटमा धन्यवाद दिवस मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्यहरूमा समयको फरक हुने हुनाले मनाउने क्रम अझ जारी छ । अमेरिकामा भेला नहुन,जमघट नहुन यत्र तत्र सर्वत्र आब्हान गरिएकोले ईतिहासमै पहिलो पटक कम संख्यामा भेला भई धन्यवाद दिवस मनाएका छन् ।

धेरै राज्य र सहरहरूमा जुम रुपमा समेत मनाएका छन् । अमेरिकामा एक राज्य र शहरबाट अर्को राज्य र सहर जाने क्रममा कमी भएको छ । आफन्त भेट्न र महत्वपूर्ण चाड भएकोले आवत जावत गर्ने क्रम पातलो रहन पुगेको छ ।

अमेरिकामा ईसाई पर्वपछिको सर्वाधिक दोश्रो ठूलो पर्वका रुपमा मनाइने ‘धन्यावाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवारबीच आफैले विभिन्न परिकारका खानेकुराहरू बनाएर या खरिद गरिएका चिजहरू खाएर धन्यवाद दिवस मनाएका छन् ।

‘धन्यावाद दिवस’ पर्वमा मुख्यरुपमा ठूलो चरा टर्की अर्थात् पातालमयूरको मासुलाई विभिन्न तरीकाले बनाएर खाइन्छ भने साथमा अन्य परिकारका चिजहरू समेत व्यवस्था गरिन्छ ।

उक्त पर्वको अवसरमा परम्परा अनुसार व्हाइट हाउसमा राष्ट्रपतिको अगाडि जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ‘पार्डोनिंग’ अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर २४ का दिन अगाडी राखिएको थियो भने उनले क्षमायाचना दिएका थिए ।

सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भनेपछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ । यो ‘थ्याङ्कसगिभिङ् डे’ अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांश बिशेष गरि दोश्रो पुस्ताका किशोर किशोरी ,बालबालिका लगायत पहिला पुस्ताले पनि यसलाई आफ्नै चाड झैँ मनाउन थालिएको छ ।

यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरूमा झाँकी प्रदर्शन पनि हुन्छ । तर यस वर्ष कोरोना महामारीको कारण सामाजिक दूरी र स्वास्थ्यका सबै सावधानी अपनाई प्रदर्शन पनि गरिएको छ । यस बर्ष अत्यधिक स्थानमा उक्त झाँकी प्रदर्शन स्थगित गरियो ।

‘थ्याङ्कसगिभिङ् डे’ इसाईहरुको एउटा प्रमुख चाड हो भने अमेरिकामा यो पर्व बढो धुमधाम र अझ उत्साहजनक रुपमा मनाइन्छ । यो पर्व संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

स्मरण रहोस ,अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहीबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस को भोलिपल्ट शुक्रबार पर्छ र उक्त शुक्रबारलाई कालो शुक्रबार भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ ।

१८६३ मा हेलले ३५ वर्ष सम्म उनले गरेको याचिका र अभिव्यक्तिको कारण राष्ट्रपति लिंकन सोच्न बाध्य भए । अन्तत्वगत्वा सोही वर्ष लिङ्कनले राष्ट्रिय सार्वजनिक बिदाको घोषणा गरेका थिए ।

वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । युरोपेलीहरू आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे ।

फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट शुरू भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित