शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सोलुखुम्बुको काँगेलडाँडा विमानस्थलमा रेखाङ्कन सुरु

दैनिक नेपाल २०७७ मंसिर ११ गते १६:३९

सोलुखुम्बु, ११ मंसिर । कागेलडाँडा विमानस्थलमा पुनः उडानपूर्व प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर, प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत तथा थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईसहितको टोलीले बुधबार अवलोकन गरेको हो ।

पाँच वर्षदेखि पूर्णरूपमा बन्द रहेको विमानस्थलको निरीक्षणपछि रेखाङ्कनको काम शुरुआत भएको प्रदेशसभा सदस्य बस्नेतले जानकारी दिए ।

विसं २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा शुरु भएको थियो । विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले पनि उडान भरेका थिए । यसपछि उडान सेवा पूर्णरूपमा बन्द भएको थियो ।

विमानस्थललाई सञ्चालनका लागि सांसद हेमकुमार राई, प्रदेश सभासद् बस्नेत, नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी तथा थुलुङ दूधकोशीका अध्यक्ष राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बारम्बार ध्यानकर्षण गराउने काम गरेका थिए ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले गत कात्तिक २१ गते विमानस्थलको स्थलगत निरीक्षण गर्दै मङ्सिर दोस्रो साता उडान सेवा शुरु गर्ने गरी तयारी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल एयरलाइन्सको विमानले उडान भर्ने सहमति भएपछि प्राधिकरणका इञ्जिनीयरको टोलीले विमानस्थलको स्थलगत निरीक्षण गरेको थुलुङ दूधकोशीका अध्यक्ष राईले बताए ।

निगमको विमानले उडान भर्ने गरी प्राधिकरणसँग सम्झौतासमेत भएको छ । विमानस्थलमा उडान सेवा सञ्चालन गराउन पहल गर्नुपर्ने भन्दै स्थानीयवासीले बारम्बार माग गर्दै आएका थिए ।

हाल जिल्लामा रहेका चार विमानस्थलमध्ये तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थल सञ्चालनमा छ भने स्याङ्बोचे विमानस्थलमा हेलिकोप्टरले कहिलेकाहीँ उडान भर्दै आएको छ ।

गाउँको बीचमा रहेको काँगेलडाँडामा भने पाँच वर्षदेखि उडान भएको छैन । सबैभन्दा बढी विमानस्थल भएको जिल्लाको सूचीमा रहेको सोलुमा अहिले महाकुलुङ गाउँपालिकाको गुदेलमा पुनः अर्को विमानस्थल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन काम भइरहेको बताइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित