
काठमाडौँ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने बताएका छन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा प्रधानमन्त्री ओलीले स्थानीयलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले कहिले पार्टी अध्यक्षका विरुद्ध कहिले प्रधानमन्त्रीका विरुद्ध सरकार ढलिहाल्छ भन्ने प्रचार गराइएको बताएका छन् । देशमा स्थिरता आउने भएर मानिसहरु आत्तिएका उनको भनाइ छ ।
देशको प्रगति र स्थिरता रहिरहने हुँदा केही मानिस आत्तिएर गलत प्रचारमा लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकार नढल्ने र गुमेका भूमिहरु फिर्ता लिइने पनि बताएका छन् । उनले सरकारको लोकप्रियता बढ्ने र स्थिरता कायम हुने भएकाले सरकारविरुद्ध गलत प्रचार भइरहेको उल्लेख गरे ।
ओलीले थपे ‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’
प्रधानमन्त्री ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गरेका थिए । त्यस्तै, प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिन् भने घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ प्रदान गर्दै प्रत्येक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अनुरोध गरिन् ।
ओलीले स्थानीयको सबै माग सरकारले पूरा गर्ने पनि आश्वासन व्यक्त गरे । साथै उनले गलैँचा बुनाइको अवलोकन समेत गरेका थिए ।
भ्रमणमा ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई समेत रहेका छन् ।
घुन्साको कार्यक्रमपछि प्रधानमन्त्री नेतृत्वको टोली ओलाङचुङगोला र इलामको जौबारी जाने कार्यक्रम छ ।















प्रतिक्रिया