शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ह्यारी भण्डारीद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा

विजय थापा २०७७ मंसिर ८ गते ११:११

डीसी महानगर क्षेत्र, ८ मंसिर । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट बिधानसभा सदस्यमा विजयी भएका ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिने भएका छन् ।

महामारीको कारण परोक्ष रुपमा आयोजना भएको उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाईमा २६ हजार डलर सङ्कलन भएको छ ।

विधानसभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत आफू उम्मेदवारी दिने निष्कर्षमा पुगेको जानकारी दिएका थिए ।

उक्त जुम कार्यक्रममा बिभिन्न विशेष व्यक्तिहरुले उनलाई सहयोग गर्ने घोषणा गरि कूल २६ हजार डलर संकलन गरेको जानकारी आतिथ्य गरेका व्यवसायी ध्रुव वन्तले गराएका थिए । उपस्थित भएका दर्जनौं विभिन्न पेशामा संलग्न व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

सबैले पुन एक पटक भण्डारीलाई जिताउनु पर्ने भन्दै के कस्तो सहयोग गर्न सकिन्छ भन्दै आर्थिक सहयोगको साथै पूर्ण सहयोग गर्ने बताएका छन् । सबैले नेपाली समुदायका जन प्रतिनिधि हुँदा नेपाली समुदायलाई उनले गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै दोस्रोपटक जिताउन लाग्नु पर्ने सबैले प्रतिवद्धता जाहेर गरेका थिए ।

भण्डारीले आफूले नेपाली समुदायलाई पनि सक्दो सहयोग गरेको र आफूले गरेका काम बारेमा संक्षेपमा प्रकाश पर्दै पुनः एकपटक सहयोग मागेका थिए । भण्डारी अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य विधानसभा सदस्यको रुपमा खाता खोल्ने व्यक्ति हुन् ।

भण्डारी मुलुकबाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवतः भण्डारी पहिलो नेपाली मूलका हुन् ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।

प्रतिक्रिया
सम्बन्धित